नेयमार र एम्बाप्पे प्लेइङ सेटमा

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको फाईनल प्रवेशका लागि पीएसजीले आज (मंगलबार) राति जर्मन क्लब आरबी आइपेजिगसंग खेल्दैछ ।
मुख्य प्रशिक्षक थोमस टुचेलले केलियन एम्बाप्पेलाई समावेश गर्दै सुरुवाती लाईनअप तयार पारेका छन् ।
पीएसजीको अग्रपङ्ती एम्बाप्पेसंगै नेयमारले सम्हाल्नेछन् ।
दुवै फरवार्डबाट प्रेरित पीएसजीले अघिल्लो खेलमा एटलान्टाबिरुद्ध पुनरागमन जित निकाल्दै सेमिफाईनल प्रवेश गरेको थियो ।
एम्बाप्पे पैतलाको चोटका कारण पछिल्लो समय निको हुने चरणमा थिए । अघिल्लो खेलमा मात्र उनी दोस्रो हाफमा मैदान छिरेका छन् । उनले अन्तिम ३० मिनेट खेल्ने मौका पाएका थिए ।
तर टुचेलले ऐतिहासिक जित नजिक रहेको पीएसजीका लागि एम्बाप्पेलाई सुरुवाती लाइनअपमै राखेका छन् ।
एम्बाप्पेलाई अग्रपङ्तीमा ब्राजिली स्टार नेयमारले साथ दिनेछन् ।
पीएसजीले सेमिफाईनलको खेलमा एन्जल डी मारियलाई समेत सुरुवाती लाइन अपमा समावेश गरेको छ । उनी अघिल्लो क्वार्टरफाईनलको खेलमा समावेश थिएनन् ।
विजेता टिम च्याम्पियन्स लिगमा पहिलो पटक फाईनल प्रवेश गर्नेछ । र उपाधिका लागि बायर्न म्युनिख र लियोनबीचको विजेतासंग खेल्नेछ ।














