एरिकले छाडे बार्सिलोना

एजेन्सी । बार्सिलोनाले क्लबका खेल निर्देशक एरिक एबिडाललाई समेत बर्खास्त गरेको छ ।
मुख्य प्रशिक्षक क्विक सेटिनलाई बर्खास्त गरेको २० घण्टा बित्न नपाउँदै बार्सिलोनाले एबिडाललाई बर्खास्त गरेको हो ।
'बार्सिलोना र एडिबाल दुई पक्ष सम्झौता सक्ने निर्णय गरेका छौ ।' क्लबले बिज्ञप्ती जारी गर्दै भनेको छ ।
'क्लब सार्वजनीक रुपमा एरिकको ब्यवसायीकता, प्रतिबद्धता, समर्पण र ब्लाग्रेना परिवार सबैप्रति देखाएका सकारात्मक ब्यवहारका लागि धन्यबाद दिन चाहन्छ ।' बार्सिलोनले भनेको छ ।
एबिडाललाई बर्खास्त गर्ने निर्णयलाई निकै महत्वपूर्ण मानिएको छ । सोमबार मात्र उनी नेतृत्वको टिमले नयाँ प्रशिक्षकको खोजी सुरु गरेको थियो ।
सेटिनलाई बर्खास्त गर्ने बित्तिकै क्लबले भनेको थियो, यो सिनियर टिमको पुर्नगठनको पहिलो निर्णय हो । जसले नयाँ प्रशिक्षक र वर्तमान टेक्निकल सेक्रेटेरीबीच सहमती बन्नेछ ।
एबिडाललाई बर्खास्त गर्नुलाई बार्सिलोनाभित्र भएको उथल पुथलको एक भागको रुपमा ब्याख्या गरिएको छ ।
बार्सिलोनाले यस सिजन उपाधि विहिन रहदै सिजनको अन्त्य गरेको थियो । च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा जर्मन क्लब बायर्न म्युनिखसंग ८–२ गोल अन्तरले पराजित भएपछि बार्सिलोना तनावपूर्ण अवस्थाबाट गुज्रिरहेको छ ।
एबिडालले सन् २०१८ बाट बार्सिलोनामा काम गर्न सुरु गरेका थिए । उनलाई सुरुवातमा खेल निर्देशकको जिम्मेवारी दिईएको थियो । गत समर सिजनमा उपाध्यक्ष जोर्डी मेस्ट्रे र पेप सेगुराले राजीनामा दिएपछि एबिडाल प्राविधिक सचिवालयमा काम गर्न थालेका थिए ।
गत जनवरीमा इर्नेस्टो भाल्भर्डेलाई बर्खास्त गरेको बार्सिलोनाले सेटिनलाई नयाँ प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।
पछिल्लो समय एबिडाल र लियोनल मेस्सीबीच विवाद समेत उत्पन्न भएको थियो । खेलाडीले प्रशिक्षकको निर्देशन अनुसार नखेलेको र मेहनत नगरेको आरोप एबिडालले खेलाडीमाथि लगाएका थिए । जसको मेस्सीले खुलेर बिरोध गरेका थिए ।














