एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले क्लबमा ठुलो परिवर्तनको आवश्यकता भएको बताएका छन् ।
च्याम्पियन्स लिगको क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग लज्जास्पद हार व्यहोरेपछि डिफेन्डर पिकेले क्लबमा ठुलो परिवर्तन आवश्यक भएको बताएका हुन् ।
पोर्चुगलको लिस्बनमा शुक्रबार राति बार्सिलोना बायर्नसँग ८-२ गोल अन्तरले पराजित भएको थियो ।
'यो पहिलो होईन, न दोस्रो, न तेस्रो हो । हामी सहि मार्गमा छैनौं । प्रशिक्षक र खेलाडीहरूले एक अर्कालाई पछ्याउँनु पर्दछ । तर, युरोपियन स्तरमा प्रतिस्पर्धा गर्न असक्षम भएको धेरै वर्ष भईसक्यो,' पिकेले भने, 'क्लबलाई परिवर्तनहरू आवश्यक छ । म प्रशिक्षक वा खेलाडीहरूको स्तरमा कुरा गरिरहेको छैन । तर, संरचनात्मक रूपमा क्लबलाई सबै प्रकारको परिवर्तन आवश्यक छ ।'
३३ वर्षीय डिफेन्डर पिकेले १२ वर्ष बढी बार्सिलोनामा बिताईसकेका छन् । उनले क्लबका लागि २० मुख्य उपाधि जितिसकेका छन् ।
पिकेले क्लबको परिवर्तनका लागि आफु बार्सिलोना छाड्न तयार भएको समेत बताए ।
'हामी सबैले आन्तरिक रूपमा सोच्नु पर्छ र क्लबको लागि के राम्रो छ भन्ने निर्णय गर्नु पर्नेछ । आजको रात बार्सिलोनाका लागि अस्वीकार्य थियो,' पिकेले थपे, 'हामीले यस गतिशील परिवर्तन गर्न नयाँ रगत ल्याउनु पर्दछ र आवश्यक भएमा क्लब छाड्नेमा म पहिलो हुनेछु ।'
क्विक सेटिनको नेतृत्वमा बार्सिलोनाले यस सिजन खराब प्रदर्शन गर्यो । बार्सिलोना ला लिगाको उपाधि जित्न समेत असफल भएको थियो ।
बायर्नसँगको लज्जास्पद हारले सेटिन बर्खास्तमा पर्ने सम्भावना समेत बलियो बनेको छ ।