एजेन्सी । म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले घरेलु फुटबलका कप प्रतियोगिताको अनुभवले च्याम्पियन्स लिगको नयाँ फम्र्याटमा खेल्न सहयोग पुग्ने बताएका छन् ।
शनिबार फ्रान्सेली क्लब लियोनबिरुद्ध उत्रन लागेको सिटीका प्रशिक्षक ग्वार्डीओलाले घरेलु फुटबलमा हुने कप प्रतियोगिताको अनुभवले फ्रेन्च क्लबबिरुद्ध खेल्दा सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।
कोरोनाका कारण च्याम्पियन्स लिगको नकआउट चरणको ढाचा परिवर्तन गर्दै सिंगल लेगमा सञ्चालन गरिएको छ । प्रतियोगिताको सेमिफाईनल प्रवेशका लागि सिटीले शनिबार राति लियोनसंग प्रतिस्पर्धा गर्दैछ ।
‘जब तिमी पहिलो लेग खेल्छौ । तिम्रो एक आँखा दोस्रो लेगमा हुन्छ ।’ ग्वार्डीओलाले भने ।
‘तर एफ ए कप र कारबाओ कपमा हामी अभ्यस्त छौ । त्यहाँ कुनै दोस्रो अवसर हुने छैन । तिमी भित्र पस वा बाहिर निस्क । यो प्रस्तुती निकै फरक हुनेछ ।’ उनले थपे ।
सिटीले प्रिमियर लिग सहित ११ मुख्य उपाधि जितेको छ । ३५ बर्षको प्रतिक्षा सक्दै सिटीले सन् २०११ मा पहिलो पटक उपाधि जितेको हो ।
उनीहरु विस्तारै युरोपेली प्रतियोगितामा बलियो बन्दै आएका छन् । उनीहरु सन् २०१६ मा अन्तिम चारमा प्रवेश गरेका थिए ।
लियोनबिरुद्ध उत्रदै गर्दा सिटीसंग फरवार्ड सर्जियो अग्युरो हुने छैनन् । निलम्बनपछि बेन्जामिन मेन्डीको आगमनले सिटीलाई राहत दिनेछ । फ्रान्सेली प्रतिद्धन्दीलाई लिएर ग्वार्डीओला तयार समेत देखिन्छन् ।
‘जे पनि हुन सक्छ । यो नकआउट खेल हो । तर हामी तयार छौ ।’ उनले भने ।
सिटीले १३ पटकको युरोपियन च्याम्पियन रियल मड्रिडलाई पाखा लगाउँदै क्वार्टरफाईनलमा प्रवेश गरेको थियो ।