एजेन्सी । म्यान्चेष्टर सिटीका फरवार्ड सर्जियो अग्युरोले च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा लियोनबिरुद्धको खेल गुमाउने भएका छन् ।
पछिल्लो समय चोटबाट पिरोलिएका अग्युरोले च्याम्पियन्स लिगको क्वार्टरफाईनल खेल समेत गुमाउने भएका हुन् ।
मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले शनिबार लियोनबिरुद्ध हुने खेलमा चोटका कारण अग्युरो उपलब्ध नहुने बताएका छन् ।
अर्जेन्टिनी फरवार्डले गत जुनमा बार्सिलोनामा घुँडाको सल्यक्रिया गरेका थिए । सोही कारण उनी च्याम्पियन्स लिग बाहिर रहदै आएका छन् ।
३२ बर्षका फरवार्डले लिस्बोनमा आफ्ना साथीसंग रहन पाउने छैनन् । अन्तिम ८ को खेलमा सिटीले फ्रेन्च क्लब लियोनसंग प्रतिस्पर्धा गर्दैछ ।

‘उनी अझैपनि बार्सिलोनामा निको हुने चरणमा रहेका छन् ।’ ग्वार्डिओलाले भने ।
प्रशिक्षक ग्वार्डिओलाले सिटी अघि बढेको खण्डमा समेत अग्युरोलाई च्याम्पियन्स लिगमा देख्न सकिने बिषयमा अनबिज्ञता प्रकट गरे ।
शनिबार लियोनबिरुद्ध जित हासिल गरेको खण्डमा सिटीले बायर्न म्युनिख र बार्सिलोनाबीचको विजेतासंग खेल्नेछ ।
‘नकआउट खेलमा जस्तो सुकै नतिजा निस्कन सक्छ । तर हामी तयार छौ ।’ उनले भनेका छन् ।
‘पक्कैपनि दबाब छ । त्यो हामीलाई मात्र नभएर सबै टिमलाई छ ।’ ग्वार्डिओलाले भने ।
च्याम्पियन्स लिगको अन्तिम ८ मा पुगेका टिमले पोर्चुगलमा सिंगल लेगमा प्रतिस्पर्धा गरिरहेका छन् ।
‘यो अलि फरक पनि छ ।’ उनले भने, ‘जब तिमी पहिलो लेग खेल्थ्यौ । तिम्रो नजर दोस्रो लेगमा समेत हुने गर्दथ्यो ।’
‘तर एफ ए कप र कारबाओ कपमा हामी अभ्यस्त छौ । त्यहाँ कुनै दोस्रो अवसर हुने छैन । तिमी भित्र पस वा बाहिर निस्क । यो प्रस्तुती निकै फरक हुनेछ ।’ उनले थपे ।
पहिलो सेमिफाईनलमा मंगलबार पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आरबी आइपेजिगसंग प्रतिस्पर्धा गर्नेछ ।