एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा यस सिजनकै सर्वाधिक बहुचर्चित भिडन्त आज (शुक्रबार) राति हुँदैछ ।
जसमा स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिखले प्रतिस्पर्धा गर्नेछन् ।
च्याम्पियन्स लिगको क्वाटरफाइनलमै दुई ठुला क्लबबीच प्रतिस्पर्धा हुन लागेको हो । र, यस खेललाई उपाधि प्रतिस्पर्धाकै रुपमा लिएको छ ।
किनकि धेरैले दुई टोलि मध्येकै एक टिमले च्याम्पियन्स लिग जित्ने अनुमान गरेका छन् ।
त्यति मात्र हैन यस खेललाई लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्कीबीचको भिडन्तको रुपमा समेत हेरिएको छ ।
क्वाटरफाइनलमा बार्सिलोना र बायर्न मैदान उत्रदा सबैको नजर मेस्सी र लेवान्डोस्कीमा हुनेछ ।
दुवै टिमका डिफेन्डर दुई गोल मेसिनलाई रोक्ने लक्ष्यमा हुनेछन् । किनकि बार्सिलोनाको मुख्य हतियार मेस्सी र बायर्नको लेवान्डोस्की हुने छन् ।
अर्जेन्टिनाका फरवार्ड मेस्सी बार्सिलोनाका कप्तान हुन् । मेस्सीलाई आफ्नो पुस्ताकै सर्वाधिक महान खेलाडी मानिन्छ ।
बार्सिलोनाका लागि मेस्सीले नजितेको उपाधि केहि छैन । ३३ वर्षीय मेस्सीले बार्सिलोनाबाट चार पटक च्याम्पियन्स लिग जितिसकेका छन् ।
कीर्तिमानी ६ पटकको बालोन डी'ओर अवार्ड विजेता मेस्सी यस सिजन पनि क्लबलाई च्याम्पियन्स लिग जिताउन चाहन्छन् ।
तर, पोल्याण्डका फरवार्ड लेवान्डोस्कीले अहिलेसम्म च्याम्पियन्स लिग जित्न सकेका छैनन् ।
३१ वर्षीय फरवार्ड लेवान्डोस्की यस सिजन भने उत्कृष्ट लयमा रहेका छन् । उनी यस सिजन बायर्नलाई च्याम्पियन्स लिगको उपाधि जिताउने अभियानमा समेत रहेका छन् ।
यस सिजन च्याम्पियन्स लिगमा १३ गोल गरिसकेका लेवान्डोस्की पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कीर्तिमान भङ्ग गर्ने योजनामा समेत रहेका छन् ।
रोनाल्डोले च्याम्पियन्स लिगको एकै सिजन १७ गोल गर्दै कीर्तिमान बनाएका थिए । उक्त रेकर्ड भङ्ग गर्न लेवान्डोस्कीलाई ५ गोलले पछि रहेका छन् ।
च्याम्पियन्स लिगको समग्र प्रदर्शन हेर्दा लेवान्डोस्की भन्दा मेस्सी अघि रहेका छन् ।
च्याम्पियन्स लिगको १ सय ४२ खेलमा मेस्सीले ८७ गोल गरेका छन् । लेवान्डोस्कीले १ सय १५ खेलमा ६६ गोल गरेका छन् ।
यस्तै डोमेस्टिक लिगमा समेत मेस्सी अगाडी रहेका छन् ।
मेस्सीले ४ सय ४३ लिग खेलमा ४ सय ३३ गोल गरेका छन् । लेवान्डोस्कीले ४ सय ३८ खेलमा ३ सय ४ गोल गरेका छन् ।