काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले क्वारेन्टिनमा रहेका आफ्ना राष्ट्रिय फुटबल टिमका खेलाडीलाई रिलिज गरेको छ ।
एन्फाले बुधबार क्वारेन्टिनमा रहेका खेलाडी, टिम अफिसियल र स्टाफलाई रिलिज गरिएको जनाएको छ ।
फिफा विश्वकप छनोट र एसियन कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने ३५ खेलाडीसहित अफिसियल र स्टाफलाई एन्फाले क्वारेन्टिनमा राखेको थियो।
तर, विश्वकप छनोट र एसियन कप छनोट २०२१ सम्मको लागि स्थगित भएपछि एन्फाले खेलाडी रिलिज गरेको हो ।
एन्फाले भदौ १ गतेबाट सुरु गर्ने भनेको टिमको प्रशिक्षण पनि अर्को सूचना नआएसम्मको लागि स्थगित गरेको जनाएको छ ।
एन्फाले प्रशिक्षणका लागि खेलाडी, अफिसियल र एन्फा होस्टलका कर्मचारीको कोरोना परिक्षण समेत गरेको थियो ।
कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब तीन होम खेल खेल्न बाँकी रहेको छ ।
यस अघि नेपालले दशरथ रंगशालामा असोज र कात्तिकमा तीन खेल खेल्ने तालिका तय थियो ।
समूह 'बी' मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ । चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।