एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत दोस्रो लेगमा आज (शनिबार) स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नापोलीसँग प्रतिस्पर्धा गर्दैछ ।
बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा नापोलीको सामना गर्नेछ । बार्सिलोना र नापोलीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
बार्सिलोना घरेलु मैदानमा जित निकाल्दै च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रनेछ ।
तर, बलियो टिम नापोलीविरुद्ध जित निकाल्न बार्सिलोनालाई सहज भने हुने छैन । किनकी पहिलो लेगमा बार्सिलोना नापोलीसँग बराबरीमा रोकिएको छ ।
गत फेब्रुवरीमा भएको पहिलो लेग १-१ गोलको बराबरीमा सकिएको थियो । त्यसैले दोस्रो लेगमा दुवै टिम जित निकाल्न चाहन्छ ।
घरेलु टोली बार्सिलोनालाई अवे गोलको फाइदा भने रहेको छ । त्यसैले बराबरी खेलेपनि बार्सिलोना अर्को चरणमा पुग्नेछ ।
तर, नापोलीलाई जित बाहेक अन्य विकल्प रहेको छैन । त्यसैले पनि बार्सिलोनालाई कठिन हुने देखिएको छ ।
पछिल्लो समय बार्सिलोनाले उत्कृष्ट खेल्न सकिरहेको छैन । मुख्य प्रशिक्षक क्वेक सेटिन र खेलाडीबीच अन्तरिक विवाद देखिएको छ ।
जसको कारण बार्सिलोनाले ला लिगा उपाधि समेत रियल मड्रिडलाई सुम्पिएको थियो । यदी च्याम्पियन्स लिगमा नतिजा राम्रो निकाल्न नसके सेटिन बर्खास्तमा पर्ने सम्भावना बलियो रहेको छ ।
घरेलु मैदानमा बार्सिलोनाका सर्जियो बुस्केट्स र अर्टुरो भिडाल मैदान उत्रने छैनन् ।
लियोनल मेस्सीको कप्तानीमा मैदान उत्रने टोलीमा डी जोङ, ओसुमाने डेम्बेले र एन्टोनियो ग्रिजम्यानले भने पुनरागमन गर्न सक्ने बताईएको छ ।
यस्तै नापोलीका फरवार्ड लोरेन्जो इन्सिग्ने फिटनेसको कारण मैदान उत्रने सम्भावना कम रहेको छ ।