एजेन्सी । कोरोना भाईरसको कारण करिब पाँच महिना स्थगित युरोपा लिग फुटबल आज (बुधबार) बाट पुन: सुचारु हुँदैछ ।
युरोपा लिग अन्तर्गत बुधबार अन्तिम १६ अन्तर्गत विभिन्न चार खेलहरु हुनेछ ।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले अष्ट्रियन क्लब लिन्जेर एथ्लेटिक स्पोर्ट्स क्लब (एलएएसके) सँग खेल्नेछ । खेल राति १२:४५ बजे सुरु हुनेछ ।
पहिलो लेगमा फराकिलो जित निकालेको युनाइटेड एलएएसकेलाई हराएर क्वाटरफाइनलमा पुग्न चाहन्छ । पहिलो लेगमा युनाइटेडले ५-० को जित निकालेको थियो ।
त्यसैले दोस्रो लेगमा युनाइटेडलाई बराबरीले अर्को चरणमा पुग्न पर्याप्त हुनेछ । झिनो अन्तरले पराजित भएपनि युनाइटेडले क्वाटरफाइनलमा पुग्ने सम्भावना रहेको छ ।
एलएएसकेलाई भने फराकिलो जित बाहेक अन्य विकल्प छैन ।
यस्तै इटालियन क्लब इन्टर मिलानले स्पेनिस क्लब गेटाफेसँग खेल्नेछ । दुवै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रनेछ ।
अन्तिम १६ अन्तर्गत नै एफसी कोपनहेगनले इस्तानबुलसँग खेल्नेछ ।
त्यस्तै शाख्तर डोनेस्कले वुल्फवर्गसँग खेल्नेछ ।