एजेन्सी । ब्राजिलियन फरवार्ड नेयमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आफुले अहिले सबैभन्दा उत्तम क्षण बिताईरहेको बताएका छन् ।
नेयमारले आफ्नो आधिकारिक वेबसाइटबाट आफुले लिग वान च्याम्पियन पीएसजीमा सबैभन्दा उत्तम क्षण बिताईरहेको बताएका हुन् ।
बार्सिलोना फर्कने चर्चा चलिरहेको समय नेयमारले आफु पीएसजीमा खुशी रहेको बताएका हुन् ।
'मलाई विश्वास छ । यस दिन पेरिसमा म सबैभन्दा उत्तम क्षणमा बाँचिरहेको छु । हामीले ठूलो उद्देश्यका लागि परिवार बनाएका छौँ,' नेयमारले भनेका छन् ।
यस सिजन नेयमार निकै उत्कृष्ट लयमा रहेका छन् । चोटका कारण अघिल्लो सिजन उत्कृष्ट खेल्न नसकेका नेयमारले यस सिजन भने क्लबलाई ठुला उपाधि दिलाउन महत्वपूर्ण योगदान समेत गरे ।
पीएसजीले यस सिजन लिग वानसहित फ्रेन्च कप र फ्रेन्च लिग कपको उपाधि जितिसकेको छ । यस्तै पीएसजी यस सिजनको च्याम्पियन्स लिग जित्ने योजनामा समेत रहेको छ ।
'पीएसजी आएपछिको तीन वर्षमा मैले धेरै ज्ञान पाए । केहि खुशी र केहि जटिल । विशेषगरी चोटको कारण मैले खेल्न सकिन,' नेयमारले भनेका छन्, 'मेरो टिमका सहकर्मीले सहयोग गरे । म फर्कन सफल भए र सबैजना के चाहन्थे त्यसमा केन्द्रित भए । जसको कारण प्रदर्शन फिल्डमा देखियो ।'
सन् २०१७ मा बार्सिलोनाबाट कीर्तिमानी मुल्यमा पीएसजी आएका नेयमारले क्लबका लागि कुल ८५ खेल खेल्दै ७४ गोल गरिसकेका छन् ।
यस सिजन नेयमारले लिगमा १३ गोल गर्दा सबै प्रतियोगितामा गरी १९ गोल गरेका छन् ।