एजेन्सी । लण्डन क्लब फुलहम इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ ।
च्याम्पियनसिपको प्ले अफमा मंगलबार राति ब्रेन्टफोर्डलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै फुलहम प्रिमियर लिगमा फर्किएको हो ।
वेम्बलीमा खेलको निर्धारित समय र थप गरिएको समयमा गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयमा जोइ ब्रायनले दुई गोल गरेपछि फुलहम प्रिमियर लिगमा बढुवा भएको हो ।
यस्तै अतिरिक्त समयमा ब्रेन्टफोर्डका हेन्रिक डालसगार्डले एक गोल फर्काएका थिए ।

गत सिजन रेलिगेसनमा परेको फुलहमले एक सिजनपछि नै प्रिमियर लिग फर्किएको हो । ब्रेन्टफोर्ड पछिल्लो ७३ वर्ष यता शीर्ष डिभिजनमा उक्लन सकेको छैन ।
फुलहम च्याम्पियनसिपको चौथोमा रहदै प्ले अफ खेल्न पाएको हो । लामो समय दोस्रो डिभिजनमा रहेको ब्रेन्टफोर्ड तेस्रो भएको थियो ।
यस सिजन लिड्स र वेस्ट ब्रुम भने शीर्ष दुईमा रहेर प्रिमियर लिगमा बढुवा भईसकेको छ ।