एजेन्सी । प्रिमियर लिग च्याम्पियन लिभरपुलका डिफेन्डर डेजान लोभ्रेन रसियन क्लब जेनिट सेन्ट पिटर्सबर्ग जाने भएका छन् ।
यस सिजनको अन्त्यसँगै लोभ्रेन पिटर्सबर्ग जाने भएका हुन् ।
सेन्टर ब्याक लोभ्रेन अनुबन्धका लागि पिटर्सबर्गको प्रस्ताव लिभरपुलले स्विकार गरेको टेलिग्राफले जनाएको छ ।
क्रोएसियन डिफेन्डर लोभ्रेन ११ मिलियन पाउण्डमा रसियन क्लब जाने भएका हुन् ।
यस सिजनको लिग सकिएपछि लोभ्रेनसँग पिटर्सबर्गले औपचारिक रुपमा अनुबन्ध गर्ने बताईएको छ ।
च्याम्पियन लिभरपुलले यस सिजन एक खेल खेल्न बाँकी रहेको छ । लिभरपुलले उपाधि भने यस अघि नै उचालिसकेको छ ।
साउथह्याम्पटनबाट सन् २०१४ मा लिभरपुल आएका उनले क्लबका लागि १ सय ८५ खेल खेलेका छन् ।
लिभरपुलबाट उनले च्याम्पियन्स लिग, प्रिमियर लिग, सुपर कप र क्लब विश्वकप जितेका छन् ।