काठमाडौं । सरकारबाट प्रशिक्षणको अनुमती पाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमका खेलाडीलाई अनिवार्य क्वारेन्टिनमा राख्ने भएको छ ।
सरकारले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउने टिमका लागि भदौ १ बाट प्रशिक्षण सुरु गर्न स्विकृति दिएसंगै एन्फाले खेलाडीलाई १४ दिन क्वारेन्टिनमा राखेर मात्र अभ्यास सत्र सुरु गर्ने भएको छ ।
मन्त्रिपरिषद्को निर्णयसँगै एन्फाले खेलाडीलाई साउन १६ गते भित्र उपत्यका प्रवेश गर्न सिमा तोकेको राष्ट्रिय टिमका ब्यवस्थापक मधुसुदन उपाध्यायले खेलपाटीसँग बताए ।
‘सरकारको नियम अनुसार खेलाडीलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्नुपर्ने हुन्छ । त्यसैले समयमै तयारी सुरु गर्न खेलाडीलाई १६ गतेसम्म हाजिर हुन भनेका छौ ।’ कार्यसमिति सदस्य समेत रहेका उपाध्यायले भने ।
गत फागुनमा ए डिभिजन लिग समाप्त भए लगत्तै एन्फाले ३४ खेलाडीलाई राष्ट्रिय टिमको प्रारम्भिक प्रशिक्षणको लागि बोलाएको थियो । तर विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण प्रशिक्षण स्थगित गरिएको थियो ।
एन्फाले उपत्यका बाहिर रहेका खेलाडीको पीसीआर परिक्षण गरेर मात्र क्वारेन्टिनमा राखिने जनाएको छ । खेलाडी उपत्यका छिरे लगत्तै होटेलमा राख्ने र पीसीआर टेष्ट गरेर मात्र प्रशिक्षणको लागि तयार गरिएको एन्फा होस्टेलमा राखिनेछ । प्रारम्भिक टोलीमा परेका ३४ खेलाडी मध्य करिब १८ खेलाडी उपत्यका भित्रै रहेको एन्फाले जनाएको छ ।
नेपालले फिफा विश्वकप २०२२ छनोट अन्तर्गत घरेलु भुमिमा अर्काे महिना तीन खेल खेल्दैछ ।
प्रतियोगिताको छनोट अन्तर्गत नेपालले चार अवे गेम खेलिसकेको छ । मैदान अभावका कारण नेपालले भुटानमा कुवेतलाई आतिथ्यता प्रदान गरेको थियो । छनोटको ५ खेलबाट नेपालले ३ अंक जोडेको छ । नेपाल समूह बीबाट चौथो स्थानमा छ ।
नेपालले दशरथ रंगशालामा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसंग खेल्न बाँकी छ । एसियाली फुटबल महासंघको पछिल्लो तालिका अनुसार दुई खेल अक्टोबर र एक खेल नोभेम्बरमा हुनेछ ।
राष्ट्रिय टिमका मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा छन् । सरकारले भदौ १ गतेबाट मात्र अन्तराष्ट्रिय उडानको अनुमती प्रदान गरेको छ । उनी प्रशिक्षण सुरु भएको केही समयपछि मात्र राष्ट्रिय टिमसंग जोडिनेछन् । त्यसअघि उनको अनुपस्थितिमा फुटबल टिमलाई सहायक प्रशिक्षक किरण श्रेष्ठले हेर्नेछन् ।
एन्फाले सिमामा हुने प्रवेश आवत जावतमा खेलाडीलाई समस्या सहयोग गरिने बताएको छ ।
‘अहिलेसम्म कुनै पनि खेलाडीले उपत्यका छिर्न समस्या भएको गुनासो गर्नु भएको छैन । त्यो भएको खण्डमा हामीले सम्पर्क गर्न भनेका छौं । उनीहरुलाई काठमाडौं छिर्न अवरोध भए तथा साधन नभए एन्फाले विकल्प दिनेछ ।’ ब्यवस्थापक उपाध्यायले खेलपाटीसँग भने ।
अन्तिम तीन खेल बाँकी रहेको अवस्थामा नेपाल चौथो स्थानमा रहँदै एसिया कप छनोट खेल्न पाउने सम्भावना बाँकी छ ।