एजेन्सी । कोरोना भाईरसको कारण लामो समय स्थगित फ्रेन्च कप फुटबलको फाइनल खेल आज (शुक्रबार) राति हुँदैछ ।
फ्रेन्च कपको फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र सेन्ट इटियेनबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल नेपाली समय अनुसार राति १२:५५ बजे सुरु हुनेछ ।
स्टेड डी फ्रान्स रंगशालामा हुने फाइनलमा दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
पीएसजी इटियेनलाई हराएर सिजनको दोस्रो उपाधि जित्न चाहन्छ ।
कोरोनाको महामारीको कारण लिग स्थगित भएपनि पीएसजीले यस सिजनको लिग वान उपाधि जितिसकेको छ ।
त्यसैले पीएसजी अर्को उपाधिको रुपमा फ्रेन्च कप जित्न चाहन्छ ।
फ्रेन्च कपको सर्वाधिक सफल टिम पीएसजीले पछिल्लो पटक सन् २०१८ मा उपाधि जितेको थियो । पीएसजीले हालसम्म १२ पटक फ्रेन्च कप जितिसकेको छ ।
इटियेन भने पीएसजीलाई हराएर सातौं पटक फ्रेन्च कप जित्न चाहन्छ । इटियेनले हालसम्म ६ पटक उपाधि जितिसकेको छ ।
यसअघि पीएसजीले सेमिफाइनलमा लियोनलाई ५-१ गोल अन्तरले पराजित गरेको थियो ।
यस्तै इटियेनले रेनसलाई २-१ ले हराएर पीएसजीसँगको भेट पक्का गरेको हो ।