एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डर थियागो सिल्भाले यस सिजनको अन्त्यसँगै क्लब छाड्दै छन् ।
पीएसजीले मंगलबार राति घरेलु मैदानमा सिल्भाको विदाई समेत गरेको छ । फ्रेन्च लिग च्याम्पियन पीएसजीले सेल्टिकसँगको मैत्रीपूर्ण खेलबाट विदाई गरेको हो ।
तर, सिल्भाले आफ्नो चाहना पीएसजी छाड्ने नभएको बताएका छन् । बिहीबार आयोजित एक पत्रकार सम्मेलनमा सिल्भाले आफुले क्लब छाड्न नचाहेको तर यस बारे अहिले कुरा गर्ने उचित समय नभएको बताए ।
'यो मेरो लागि विशेष क्षण हो । समर्थकहरूबाट सधै सम्मान पाएको छु । उनीहरुले सोधे कि म बस्न सक्छु । तर, यो मेरो निर्णय होइन । यस विषयमा कुरा गर्ने उपयुक्त समय होइन,' सिल्भाले भने, 'म क्लब छोड्न चाहन्न थिए । तर निर्णय भईसकेको छ । निर्णयलाई सम्मान गर्छु ।'
३५ वर्षीय ब्राजिलियन डिफेन्डरले च्याम्पियन्स लिगसम्म क्लबका लागि खेल्नेछन् । च्याम्पियन्स लिग अगष्टमा सकिनेछ ।
सिल्भा सन् २०१२ मा एसी मिलानबाट पीएसजी आएका थिए । पीएसजीका लागि उनले ३ सय बढी खेल खेलिसकेका छन् ।