एजेन्सी । प्रशिक्षक मौरिजियो सर्रीले युभेन्ट्स शारिरिक र मानसिक रुपमा थालेको बताएका छन् ।
बिहिबार राति युडिनिजसंग २–१ ले पराजित भएपछि प्रतिक्रिया दिदै सर्रीले युभेन्ट्स थाकेको बताएका हुन् ।
बिहिबार जित निकाल्दै तीन खेल अगावै लिग च्याम्पियन बन्ने अवसर युभेन्ट्सलाई प्राप्त थियो । प्राप्त जितले युभेन्ट्सले लगातार नवौं पटक लिग उपाधि उचाल्ने थियो ।

पहिलो हाफमा म्याथिज डी लिटको गोलसंगै युभेन्ट्स उपाधि यात्रामा अघि बढेको थियो । तर दोस्रो हाफमा लगातार दुई गोल गर्दै रेलिगेशनबाट बच्न संघर्षरत युडिनिजले अप्रत्यासित जित आत्मसाथ गर्यो ।
ईलिजा नेस्टरोवस्कीले ५२ औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए भने खेलको अन्तिम मिनेटमा सेको फोफनाले विजयी गोल गरेका थिए ।
एटलान्टाले ७४ अंक सहित दोस्रो स्थानमा आफुलाई राखेको छ । ईन्टर मिलान र लाजियो क्रमश ७३ र ७२ अंक सहित उसलाई पछ्याईरहेका छन् ।
ब्यस्त तालिका र निरन्तरको खेलतर्फ संकेत गर्दै सर्रीले थकानका कारण युभेन्ट्सले पछिल्लो खेलमा अप्रत्यासित हार ब्यहोरेको बताए । यस महिनामात्र युभेन्ट्सले ६ खेल खेलिसकेको छ ।

'यो अवस्थामा हामी शारिरिक र मानिसक रुपमा निकै थकित छौ । यो सबैको समस्या हो ।' हारपछि सर्रीले भने ।
'आक्रमकतालाई पुरै खेलमा राख्न कठिन छ । त्यसैले आज हामीले खेल हारेका छौ ।' उनले भने ।
युभेन्ट्सलाई नवौं लिग उपाधि जित्ने अवसर बाँकीनै छ । उसले आईतबार साम्पोडियालाई घरेलु मैदानमा आमन्त्रण गर्दैछ । सिरि एमा मात्र तीन चरणको खेल बाँकी छ ।
सर्रीले आफुहरुको सम्पूर्ण ध्यान सोही खेलमा केन्द्रित हुने बताएका छन् । उनले अर्को महिना च्याम्पियन्स लिगमा लियोनबिरुद्ध हुने खेलबारे आफुहरुले नसोचेको बताएका छन् ।
'यस अवस्थामा हामीले च्याम्पियन्स लिगको बारेमा सोचेका छैनौ । मेरो दिमागमा आईतबार हुने साम्पोडियाबिरुद्धको खेलमात्र रहेको छ ।' उनले भनेका छन् ।