‘मेस्सीले बार्सिलोनामै करियर अन्त्य गर्नेछन्’

एजेन्सी । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टेमेउले लियोनल मेस्सीले स्पेनिस क्लबमै फुटबल करियर अन्त्य गर्ने बताएका छन् ।
अर्जेन्टिनाका अन्तराष्ट्रिय फरवार्ड लियोनल मेस्सीको पछिल्लो अवस्थाबारे जानकारी दिदै बर्टेमेउले बार्सिलोनासंग सम्झौता नविकरण गर्न मेस्सी अनिच्छुक रहेको रिपोर्टको खण्डन गरे । बार्सिलोनासंग मेस्सीको सम्झौता सन् २०२१ मा सकिदैछ ।
‘हामी धेरै खेलाडीसंग छलफल गरिरहेका छौ । तर मेस्सीले आफु क्लबमै बस्न चाहेको बताएका छन् ।’ बर्टेमेउले स्पेनिस मिडियालाई दिएको अन्तरवार्तामा भनेका छन् ।
‘सोही कारण हामी उनीसंग लामो समयसम्म रमाईलो गर्न गईरहेका छौ ।’ उनले भने ।
क्याटलान क्लबले आईतबार भिया रियलमाथि ४–१ को जित निकालेपछि उनको सो भनाई बाहिर आएको हो ।
जितसंगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसंगको दुरी चार अंकमा झारेको छ । सर्जियो रामोसको पेनाल्टी गोलमा रियलले पछिल्लो खेलमा एथ्लेटिको बिल्बाओमाथि १–० को जित आत्मसाथ गरेको थियो ।
भार मार्फत रियलले पेनाल्टी प्राप्त गरेको थियो । तर बिल्बाओको एक अपिललाई रेफ्रीले अस्विकार गरेका थिए ।
‘मैले बिल्बाओको खेल हेरे । तर मलाई भन्न मन छैन, भारको उपयोग गरिएको छैन, जसरी गरिन पथ्र्यो ।’ बर्टेमेउले भने ।