एजेन्सी । युभेन्ट्सका गोलकिपर जियानलुइजी बुफोनले इटालियन सिरी 'ए' फुटबलमा कीर्तिमान बनाएका छन् ।
घरेलु मैदानमा शनिबार टोरिनोविरुद्धको खेलमा मैदान उत्रदै गोलकिपर बुफोनले सिरी 'ए' लिगमा सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।
टोरिनोविरुद्धको खेलसँगै बुफोनले सिरी 'ए' फुटबलमा ६ सय ४८ औं खेल पुरा गरे ।
४२ वर्षे बुफोनले एसी मिलानका पूर्व डिफेन्डर पाउलो माल्दिनीको कीर्तिमान भङ्ग गरेका हुन् ।
इटालीका पूर्व कप्तान तथा गोलकिपर समेत रहेका बुफोनले सन् १९९५ को नोभेम्बरमा पर्माबाट सिरी 'ए' मा डेब्यु गरेका थिए । जतिबेला उनी १७ वर्षका थिए ।

पर्मामा ६ सिजन बसेका बुफोनले १ सय ६८ खेल खेलेका थिए । त्यसबाहेक अन्य सबै खेल उनले युभेन्ट्सबाट खेलेका छन् ।
उनी सन् २००१ मा युभेन्ट्स आएका थिए । उनी सन् २०१७/१८ सिजन भने फ्रेन्च क्लब पीएसजी गएका थिए ।
तर, एक सिजन खेल्दै बुफोन पुन: युभेन्ट्स फर्किएका थिए ।
बुफोनले युभेन्ट्सबाट सिरी बी लिगमा ३७ खेल समेत खेलेका थिए । म्याच फिक्सिङको कारण सन् २००६ मा युभेन्ट्स दोस्रो डिभिजनमा झरेको थियो ।
बुफोनले युभेन्ट्सबाट १० पटक सिरी 'ए' उपाधि जितेका छन् ।
उनी १२ पटकका सिरी 'ए' गोलकिपर अफ दि इयर समेत हुन् ।
इटालीका लागि बुफोनले विश्वकप उपाधि समेत जितेका छन् ।
तर, उनले च्याम्पियन्स लिग भने जित्न सकेका छैनन् ।