एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सानदार जित निकालेको छ ।
शनिबार भएको खेलमा युनाइटेडले बर्नेमाउथलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा एक गोलले पछि परेको अवस्था उल्टाएर युनाइटेडले सानदार जित निकालेको हो ।
युनाइटेडलाई जित दिलाउन मासन ग्रीनवुडले दुई गोल गरे । यस्तै एन्थोनी मार्सियल, मार्कस राष्फोर्ड र ब्रुनो फर्नान्डेसले एक एक गोल गरे ।
बर्नेमाउथका जुनियर स्टानिसलास र जोशुवा किङले एक एक गोल फर्काए ।
ओल्ड ट्राफोर्डमा सुरुवाती अग्रता भने बर्नेमाउथले बनाएको थियो । खेलको १६ औं मिनेटमा जुनियरको गोलबाट बर्नेमाउथले अग्रता बनाएको थियो ।

२९ औं मिनेटमा ग्रीनवुडले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । ३५ औं मिनेटमा राष्फोर्डले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए ।
खेलको ४५ औं मिनेटमा मार्सियलले गोल गर्दा युनाइटेडले पहिलो हाफमा ३-१ को अग्रता बनायो । ५० औं मिनेटमा बर्नेमाउथका जोशुवाले गोल गर्दै खेल ३-२ मा ल्याए ।
५४ औं मिनेटमा ग्रीनवुडले व्यक्तिगत दोस्रो गोल गर्दा युनाइटेडको अग्रता ४-२ को बन्यो । त्यसपछि खेलको ५९ औं मिनेटमा फर्नान्डेसले फ्रिकिकमा गोल गर्दै युनाइटेडलाई ५-२ को सहज जित दिलाए ।

जितसँगै युनाइटेड लिगको चौंथो स्थानमा उक्लिएको छ । र, युनाइटेडले च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायम राखेको छ ।
युनाइटेडले ३३ खेलमा ५५ अंक जोडेको छ । पराजित बर्नेमाउथ २७ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।


