काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक कप्तान तथा गोलरक्षक किरण कुमार लिम्बु (चेम्जोङ) ले राष्ट्रिय टिमको प्रशिक्षण सुरुगर्न हतार गर्न नहुने बताएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमको प्रशिक्षण थाल्ने तयारी गरिरहेको अवस्थामा किरणले टिमको तयारी गर्न हतार गर्न नहुने बताएका हुन् ।
कोरोना भाईरसको कारण गत मार्चबाट राष्ट्रिय टिमको प्रशिक्षण रोकिएको छ । तर, एन्फाले आगामी साताबाट टिमको तयारी थाल्ने योजना बनाईरहेको छ ।
‘पछिल्लो समय उपत्यकामा कोरोना पोजेटिभ बढ्दै गएको छ । यसले गर्दा हामीले अहिलेनै राष्ट्रिय टिमको तयारी गर्नु हतार हुन्छ,’ खेलपाटीसँग कुरा गर्दै किरणले भने, ‘मैले अन्य खेलाडीसँग पनि बुझे । प्रशिक्षण केहि समय पछि गर्नुपर्ने जस्ता कुरा गरेका छन् । समस्या बुझेर अगष्ट पहिलो साता गर्दा राम्रो हुन्थ्यो । ’
भारतको क्लब मिनर्भा पन्जाबबाट खेलिरहेका किरण कोरोनाको महामारी कायम रहेपछि स्वदेश फर्किएका हुन् । पन्जाबसँगको एक वर्षे सम्झौता र लिग सकिएपछि उनी नेपाल फर्किएका हुन् । स्वदेश फर्किएपछि किरण एन्फाको होस्टेलमै रहेको क्वारेन्टिन बसिरहेका छन् ।
यसबीचमा किरणले साइप्रसको ग्लोभ्स कम्पनी आरजीसँग प्रायोजन सम्झौता गरेका छन् । वार्षिक २० जोर ग्लोभ्स उपलब्ध गराउने गरी किरणलाई आरजीले दुई वर्षको लागि प्रायोजन गरेको हो ।

पछिल्लो समय उपत्यकामा कोरोनाको संक्रमित दैनिक बढ्न थालेको छ । जसको कारण खेलाडीमा संक्रमण हुन सक्ने भन्दै टिमको प्रशिक्षणलाई कम्तिमा एक महिना पछि सार्नु पर्ने पर्ने किरणको भनाई छ ।
‘कोहि खेलाडीलाई कोरोना लाग्यो भने ब्याड न्युज जान्छ । कोरोना काठमाडैंमा बढ्दै गएको छ । त्यसैले हतार नगरौं भन्ने मेरो भनाई छ,’ किरणले थपे ।
कोरोनाको कारण सरकारले लकडाउन गरेपछि खेलाडीहरुले घरै सेल्फ ट्रेनिङ भने गरिरहेका छन् । लकडाउन खुकुलो भएसँगै खेलाडीहरु फुटसल र जिमखानामा समेत देखिन थालेका छन् ।
खेलाडीले टिमको फिजियोको निर्देशनमा सेल्फ ट्रेनिङ गरिरहेको कारण पनि प्रशिक्षण ढिला सुचारु गर्दा समस्या नआउने किरण बताउँछन् ।
‘सबैले आफै तयारी गरिरहेका छन् । फिजियोथेरापिष्ट (आविस्कार पुडासैनी) सँग नजिक छन् । पछिलाई समस्या न आउला,’ किरणले भने ।
एन्फाले गत महिना नै जुलाई दोस्रो साताबाट टिमको प्रशिक्षण सुरुगर्ने निर्णय गरेको थियो । एन्फाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत मन्त्रालयमा सहित सरकारको उच्च स्तरिय समितीलाई समेत प्रशिक्षण गर्न अनुमती मागिसकेको छ ।
एसियन फुटबल फेडेरेसन (एएफसी) ले कोरोनाको कारण रोकिएको विश्वकप र एसियन कप छनोटको नयाँ मिति सार्वजनिक गरेसँगै एन्फाले टिमको तयारी थाल्न लागेको हो ।
छनोट अन्तर्गत नेपालले आगामी असोजमा अष्ट्रेलिया, जोर्डन र चाईजिन ताईपे घरेलु मैदानमा खेल्नेछ । नेपालले तीनै खेल दशरथ रंगशालामा खेल्नेछ ।

तर, विश्वभर बढेको कोरोना भाईरसका कारण खेल भने दर्शक बिना खेल्नुपर्ने सम्भावना रहेको छ । अहिले युरोपका ठुला लिगहरु समेत बन्द रंगशालामा संचालन भईरहेको छ ।
दर्शक बिना आफ्नै मैदानमा खेल्दा समेत टिमलाई भने घाटा पुग्ने किरण बताउँछन् ।
‘धेरै पछि होम मैदानमा खेल्दैछौ । सबै स्ट्रोङ टिम छन् । दर्शकको एनर्जिसहित खेल्दा ठुला टिमलाई दबाब दिन सहज हुन्थ्यो । अब परिस्थितिले दर्शक बिना खेलाउँदा नराम्रो लाग्छ,’ किरण भन्छन् ।
राष्ट्रिय टिमका अधिकांस खेलाडी उपत्यका बाहिर रहेका छन् । एन्फाले उनीहरुलाई काठमाडौं झिकाउन पहल समेत गरिसकेको छ ।
राष्ट्रिय टिमका व्यवस्थापक तथा राष्ट्रिय टोली तयारी समितीका संयोजक मधुसुदन उपाध्यायले टिमको तयारी तोकेको मिति भन्दा केहि पर सर्ने बताए ।
‘हामीले राखेपमार्फत स्विकृति मागेका छौं । स्वास्थ्य मन्त्रालयबाट पीसीआर टेष्टको लागि स्विकृत भएको छ । अभ्यासको भने प्रक्रियामै रहेको छ,' उनले भने ।