एजेन्सी । म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले लिभरपुलका टिम बियरले मातेको कारण फराकिलो जित निकाल्न सफल भएको बताएका छन् ।
घरेलु मैदानमा बिहीबार राति सिटीले च्याम्पियन लिभरपुललाई ४-० ले हराएको थियो ।
इतिहाद मैदानको जितपछि ग्वार्डिओलाले लिभरपुलले यस हप्ता धेरै बियर पिएको र प्रतिस्पर्धा गर्न आएको कारण जित सहज भएको दाबी गरे ।
गत साता चेल्सीसँग सिटी पराजित भएपछि लिभरपुलले ३० वर्ष पछि लिगको उपाधि जितेको थियो । उपाधिपछि लिभरपुलले धेरै उत्सव मनाएको ग्वार्डिओलाको भनाई थियो ।
'उनीहरु यहाँ उत्सव मनाउन आएका थिएनन् । यस हप्ता उनीहरुले धेरै बियर पिए र यहाँ प्रतिस्पर्धा गर्न आए,' ग्वार्डिओलाले खेलपछि भने ।
लिभरपुलमाथि फराकिलो जित निकाल्न सिटीका लागि केभिन डी ब्रुएन, फिल फाडेन र रहिम स्ट्रर्लिङले एक एक गोल गरे । लिभरपुलका एलेक्स च्याम्बरलिनले एक आत्मघाती गोल गरेका थिए ।
यस्तै ग्वार्डिओलाले च्याम्पियन टिमलाई च्याम्पियन शैलीमा हराएको समेत बताए ।
'म खुसी छु। टोलीलाई बधाई छ । हामीले च्याम्पियनलाई उनीहरूकै गुणस्तरमा हरायौं,' ग्वार्डिओलाले भने, 'यस खेल आर्सनल र रियल मड्रिडसँगको तयारीका लागि महत्वपूर्ण छ ।'
खेल अघि सिटीका खेलाडीले लिभरपुलका खेलाडीलाई 'गार्ड अफ अनर' दिएको थियो ।
जितसँगै सिटीले लिभरपुलसँगको अंक दुरी समेत घटाउन सफल भएको छ ।
दोस्रो स्थानको सिटीको ६६ अंक छ । उपाधि विजेता लिभरपुलको ८६ अंक रहेको छ ।