एजेन्सी । दक्षिण एसियाली मुलुक श्रीलंकाले सुपर लिग फुटबल नोभेम्बरको अन्तिमबाट सुरु गरिने भएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी)ले श्रीलंकन सुपर लिग नोभेम्बरको अन्तिममा सुरु हुने जनाएको हो ।
श्रीलंकन सुपर लिगमा १० टिम सहभागी रहेका छन् । यसअघि प्रतियोगिता अप्रिलमा सुरु हुने भएपनि कोरोना महामारीका कारण लिग स्थगित भएको थियो ।
तोकिएको समयमा लिग सुरु भए श्रीलंका दक्षिण एसियामा कोभिड–१९ पछि फुटबल सुरु गर्ने पहिलो राष्ट्र बन्नेछ ।
कोरोनाका कारण नेपालमा समेत फुटबल गतिविधि ठप्प छ । अन्य देशको समेत अवस्था उस्तै छ । यद्यपि दक्षिण एसियाली भुटानले भने राष्ट्रिय टिमको तयारी सुरु गरिसकेको छ । नेपालले समेत अर्काे महिनाबाट राष्ट्रिय टिमको तयारी सुरु गर्ने बताएको छ ।
श्रीलंकन सुपर लिगमा डिफेन्डर एससी, सेआ हक्स एससी, ब्लू ईगल, कोलम्बो एफसी, रेनाउन एससी, रत्नम एससी, रेड स्टार एससी, ब्लू स्टार एससी, अप कन्ट्री लायन्स एससी र न्यु योङ्ग जस्ता टिम रहेका छन् ।
‘ब्यवसायीक लिग प्रतिस्पर्धा मात्रै हैन । यो पुर्ण रुपमा नयाँ फुटबल उद्योग हो । जसले अब ३ सय खेलाडी, प्रशिक्षक र अन्य पदाधिकारीको लागि ब्यवसायीक रोजगार हुनेछ । जसले फुटबल उद्यमीलाई नयाँ फुटबल ब्यापारको अवसर पनि प्रदान गर्दछ ।’ श्रीलंका फुटबल महासंघका महासचिव जस्वार उमरले स्थानीय मिडियालाई भनेका छन् ।
श्रीलंकाको सुगातादास स्टेडियममा ६ महिलाको लामो सुपर लिग आयोजना हुनेछ । हाल श्रीलंकामा १० क्लब एएफसी लाईसेन्स प्राप्त छन् । नेपालमा भने कुनै पनि क्लबले एएफसी लाईसेन्स प्राप्त गर्न सकेका छैनन् ।