एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (बुधबार) विभिन्न पाँच खेल हुँदैछ ।
प्रिमियर लिगमा बुधबार लिग लिडर लिभरपुल, म्यानचेस्टर युनाइटेड, एभर्टन लगायतका क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
उपाधि नजिक रहेको लिभरपुलले घरेलु मैदानमा क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्दैछ ।
लिभरपुल र क्रिस्टलबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।
एनफिल्डमा लिभरपुल सहज जित निकाल्दै उपाधि नजिक पुग्न चाहन्छ ।
दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २० अंकले अघि रहेको लिभरपुल यस सिजन उपाधि नजिक रहेको छ ।
लिभरपुलले ८३ अंक जोडेको छ भने सिटीको ६३ अंक रहेको छ ।
यस्तोमा क्रिस्टललाई पराजित गरेमा र सिटीले चेल्सीसँगको खेल गुमाए मा लिभरपुल च्याम्पियन बन्नेछ ।
४२ अंक जोडेको क्रिस्टल नवौं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै बुधबार म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडसँग खेल्नेछ ।
युनाइटेड र सेफिल्डबीचको खेल नेपाली समय अनुसार १०:४५ मा सुरु हुनेछ ।
घरेलु मैदानमा जित निकाल्दै युनाइटेड शीर्ष चार टोलीसँगको अंक दुरी कम गर्ने योजनामा हुनेछ ।
पाँचौं स्थानको युनाइटेडको ४६ अंक रहेको छ ।
लिग अन्तर्गत नै एभर्टनले नर्विचसँग खेल्दा वुल्भ्सले बर्नेमाउथसँग खेल्नेछ ।
त्यस्तै न्युकासल र एस्टन भिल्लाबीच समेत खेल हुनेछ ।