एजेन्सी । अमेरिकी प्रहरीको नियन्त्रणमा जर्ज फ्लोयडको मृत्यु भएपछि अमेरिकामा अहिले आन्दोलन र दंगा चर्किएको छ ।
अमेरिकाको मिनियापोलिस शहरमा गत सोमबार प्रहरीको नियन्त्रणमा रहेको बेला फ्लोयडको मृत्यु भएको थियो ।
प्रहरी अधिकारीले भुइमा लडेका ४६ वर्षीय फ्लोयडको घाँटीमा थिचेपछि उनको मृत्यु भएको थियो ।
उनको मृत्युपछि काला जातिका मानिसलाई प्रहरीले घाँटी थिचेर मारेको भन्दै अहिले विश्वभर विरोध भइरहेको छ ।

जसमा खेलाडीहरुले समेत समर्थन जनाईरहेका छन् । जर्मन बुन्डेसलिगा र प्रिमियर लिगका खेलाडीले उनको हत्याको विरोध गरेका छन् ।
बोरुसिया डर्टमण्डका जाडोन सान्चो, अच्राफ हाकिमी र बोरुसिया मुन्छेनग्लाडबाखका मार्कोस थुरामले खेल दौरान फ्लोयडले न्याय पाउनुपर्ने भन्दै विरोध जनाएका थिए ।
खेलाडीहरु विरोधमा उत्रिन थालेपछि बुन्डेसलिगाले भने खेलाडीलाई कारबाही गर्ने तयारी गरेको छ ।

तर, विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भने खेलाडीसँग एक्यबद्धता जनाएका छन् ।
फिफाले आफ्ना संघलाई खेलाडीलाई कारबाही गर्ने वा नगर्ने विषयमा 'कमन सेन्स' प्रयोग गर्न भनेको छ ।
फिफाले बुन्डेसलिगाका खेलाडीले गरेको कार्यलाई सजाय नभई समर्थन गर्नु पर्ने बताएको छ ।
'बुन्डेसलिगा खेलमा खेलाडीहरुले गरेको विरोध प्रदर्शन सजाय नभई प्रसंशाको पात्र बन्नेछन्,' फिफाले विज्ञप्तिमा भनेको छ,'हामी सधै भन्ने गरेका छौँ । रंगभेदीय दुर्व्यबहार र जातीय भेदभाव हुनु हुदैन ।'
पछिल्लो समय प्रिमियर लिग क्लबका खेलाडीले समेत हत्याको विरोध गरिरहेका छन् । लिभरपुल र चेल्सीका खेलाडीले मैदानमा घुँडा टेकेर विरोध जनाएका थिए ।