मेस्सी नम्बर एक, रोनाल्डो शीर्ष पाँचमा

एजेन्सी । ब्राजिलियन लिजेण्ड फुटबलर रोनाल्डोले बार्सिलोनाका कप्तान लियोनल मेस्सी विश्वको उत्कृष्ट खेलाडी भएको बताएका छन् ।
स्पेनिस पत्रिका एएससँग कुरा गर्दै रोनाल्डोले मेस्सी अहिलेको नम्बर एक खेलाडी भएको बताएका हुन् ।
रोनाल्डोले मेस्सी नम्बर एक भएको र युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो भने शीर्ष पाँचमा पर्ने दाबी गरे ।
उनले रोनाल्डोसँगै नेयमार, मोहमद सलाह, इडेन हाजार्ड र केलियन एमबाप्पे पनि शीर्ष पाँचमा रहेको बताए ।
'मेस्सी, अवश्य पनि उनी नम्बर एक हुन् । उनको जस्तो प्रतिभा हेर्न २०/३० वर्ष लाग्छ,' रोनाल्डोले भने, 'मलाई सलाह, हाजार्ड, नेयमार ,एमबाप्पेको खेल मन पर्छ । उनीहरुको खेल हेर्न मन पराउछु ।'
विश्व फुटबलमा अर्जेन्टिनाका मेस्सी र पोर्चुगलका रोनाल्डोबीच को उत्कृष्ट भन्ने बिषयमा लामो समयबाट विवाद रहदै आएका छन् I दुवैले विश्व फुटबलमा थुप्रै कीर्तिमान समेत बनाएका छन् ।
तर, दुई पटकको विश्वकप विजेताले रोनाल्डोले भने मेस्सी छनोट गरेका हुन् ।
बार्सिलोनाका पूर्व खेलाडी समेत रहेका रोनाल्डोले कीर्तिमानी ६ पटकको बालोन डी'ओर विजेता मेस्सी र आफ्नो खेलमा समानता भएको समेत बताए ।
'धेरै मानिसले भन्छन् कि ऊ म जस्तो देखिन्छ । उसँग स्पिड छ, राम्रोसँग फिनिस गर्छ । उसको मुभमेन्ट राम्रो छ । दुवै खुट्टाले बल प्रहार गर्न सक्छ । हामीसँग समान गुणहरु छ तर मलाई तुलना गर्न कहिल्लै मन पर्दैन,' रोनाल्डोले भने ।
रोनाल्डोले प्रिमियर लिग जत्तिकै स्पेनिस ला लिगा पनि उत्कृष्ट लिग भएको समेत बताए ।
'यो प्रस्ट छैन कि प्रिमियर लिग हाम्रो भन्दा राम्रो । सायद टेलिभिजनको आम्दामीमा क्लबले बढी लिन्छन् । तर, उत्कृष्ट खेलाडी स्पेनमा छन् ,' रोनाल्डोले भने ।












