'कौटिन्हो प्रिमियर लिग फर्कन चाहन्छन्'

एजेन्सी । ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्हो प्रिमियर लिग फर्किन चाहेको उनको एजेण्ट किया जुराबचियनले बताएका छन् ।
स्काई स्पोर्ट्ससँग कुरा गर्दै एजेण्ट कियाले बार्सिलोनाका कौटिन्होले प्रिमियर लिग फर्कने लक्ष्य राखेको बताएका हुन् ।
'केहि कुरामा उनी प्रिमियर लिग फर्कने इच्छा छ,' कियाले भने, 'यस वर्ष यो नहुन सक्छ । यो वर्ष यो हुनसक्छ । हामीलाई थाहा छैन । वास्तवमा हामीले छलफल गरेका छैनौँ ।'
कौटिन्हो सन् २०१८ को जनवरीमा लिभरपुलबाट बार्सिलोना गएका थिए । तर, बार्सिलोनाले गत सिजन कौटिन्होलाई लोनमा बायर्न म्युनिख पठाएको थियो ।
पछिल्लो समय बार्सिलोना कौटिन्होलाई बेच्ने तयारी गरिरहेको छ । बार्सिलोनाले जुन ३० भित्र कौटिन्हो बेच्न योजना बनाएको समेत बताईएको छ ।
बार्सिलोनाले बायर्नलाई कौटिन्होलाई स्थायी रुपमा अनुबन्धको लागि समेत अवसर दिएको छ ।
यस्तै प्रिमियर लिगका क्लबले समेत कौटिन्हो अनुबन्धका लागि चाँसो देखाएको बताईएको छ ।
गत वर्षको अगष्टमा बायर्न पुगेका कोटिन्होले २२ खेलमा आठ गोल गरेका छन् । खुट्टाको चोटको शल्यक्रियाको कारण बुन्डेसलिगा सुचारुपछि भने कोटिन्हो मैदान उत्रिएका छैनन् ।
बुन्डेसलिगा सुचारुपछि बायर्नले लगातार तीन खेलमा जित निकालिसकेको छ ।












