एजेन्सी । प्रिमियर लिग क्लब आर्सनलका खेलाडी तलब कटौतीमा सहमत भएका छन् ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण खस्कदो क्लबको आर्थिक अवस्थालाई सहयोग गर्न क्लबका खेलाडी तथा प्रशिक्षक तलब कटौतीमा सहमत भएका हुन् ।
लण्डन क्लबका पहिलो टिमका खेलाडी तथा प्रशिक्षक मिकेल अर्टेटा वित्तिय संकटबाट क्लबलाई पार लगाउन बार्षिक १२ दशमलव ५ प्रतिशत तलब कटौतीमा सहमत बनेका हुन् ।
क्लबले बिज्ञप्ती जारी गर्दै खेलाडी तथा प्रशिक्षक बार्षिक रुपमा साढे १२ प्रतिशत तलब कटौतीमा सहमत बनेको जनाएको छ ।
सहमती अनुसार क्लबका मुख्य प्रशिक्षक स्टाफहरुको समेत तलब कटौती हुनेछ ।
क्लबले तय गरेको लक्ष्य हासिल भएको अवस्थामा सम्झौता गरिएको रकम पुन फिर्ता गर्ने आर्सनलले जनाएको छ ।
'सम्झौता सिजन सकिने र प्रशारण अधिकार वापतको रकम सबै प्राप्त गर्ने आधारमा गरिएको छ ।' क्लबद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।
'यस संकटको समयमा खेलाडी र अफिसियलले गरेको सहकार्यबाट क्लबले गर्व महशुश गरेको छ । हामी ईतिहासको सबैभन्दा चुनौतीपूर्ण घडीमा रहेका छौ ।' क्लबले भनेको छ ।
वाटफोड, साउथह्याम्टन र वेस्ट ह्याम लगायतका क्लबले यसअघिनै पहिलो टिमका खेलाडीको तलब रोक्ने बिषयमा सहमती गरिसकेका छन् ।
प्रिमियर लिगले खेलाडीको तलब करिब ३० प्रतिशत कटौती गर्न प्रस्ताव गरेको थियो । तर प्रिमियर लिगको प्रस्तावले खेलाडीले बेलायतको स्वास्थ्य बिमामा गर्दै आएको योगदान प्रभावित हुने व्यवसायीक फुटबलर संघले अडान राख्दै आएको छ ।