काठमाडौं । आज अप्रिल ४ तारिक ।
सन्दीप लामिछानेले सिनियर राष्ट्रिय टिमबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेको चार बर्ष पुरा भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट सुरु गरेको चार बर्षमै सन्दीपले ब्यवसायीक रुपमा घरेलु खेलकुदमा सर्वाधिक सफल खेलाडीको रुपमा आफुलाई स्थापित गरेका छन् ।
सन् २०१६ अप्रिल ४ गते उनले नामिबियाबिरुद्ध खेल्दै राष्ट्रिय टिमबाट डेब्युको अवसर पाएका थिए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वल्ड क्रिकेट लिग च्याम्पियन्सिपमा अन्तर्गत नामिबियाविरुद्ध उनले डेब्यु गरेका थिए । मात्र १६ वर्षको उमेरमा उनले राष्ट्रिय टिममा स्थान बनाउन सफल भए । डेब्यु खेलमै उनको प्रदर्शन पनि तारिफ योग्य नै रह्यो ।
पहिलो खेलमा सन्दीपले पिक्की या फ्रान्सलाई बसन्त रेग्मीको हातबाट आउट गराउँदै अन्तराष्ट्रिय क्रिकेटमा विकेट लिन सुरु गरेका थिए । डेब्यु खेलमा १० ओभर बलिङ गरेका सन्दीपले २ मेडेन ओभर सहित ३७ रन खर्चदै राम्रो सम्भावना देखाएका थिए ।
दोस्रो खेल उनको करियरको 'टर्निङ पोइण्ट' बन्यो ।
पहिले ब्याटिङ गरेको नामिबिया २० औं ओभरसम्म कुनै विकेट नगुमाएर ९५ रन बनाएर खेल्दै थियो ।
२० ओभरसम्म नेपालले सन्दीप सहित आफ्नो मुख्य सबै बलरको प्रयोग गर्दा समेत कुनै कमाल गर्न सकेको थिएन । २१ औं ओभरमा पुन सन्दीप आफ्नो तेस्रो ओभर लिएर आएका थिए ।
स्ट्राइकमा नामिबियाका कप्तान स्टिफन बर्ड अर्धशतक बनाएर खेलिरहेका थिए । ओभरको चौथो बलमा सन्दीपले नेपाललाई 'ब्रेक–थ्रु' दिलाए । एज लागेको बलमा किपर बिनोद भण्डारीले क्याच लिंदा नेपालले पहिलो विकेट लिन सफल भयो । त्यसपछि २० रन जोड्न नामिबियाले थप ४ विकेट गुमायो र नेपाल खेलमा फर्किन सफल भयो ।
यद्दपी पछिल्ला क्रमका ब्याट्सम्यानले सम्हालिएर खेल्दा नेपालसामु चुनौतीपुर्ण योगफल खडा गर्यो । तर कप्तान पारस खड्काले शतक र शरद भेसवाकरले अर्धशतक बनाएपछि नेपाल ३ विकेटले विजयी भयो ।
पहिलो खेलमा १ विकेट लिएका सन्दीपले दोस्रो खेलमा ९ ओभर बलिङ गर्दै २ मेडेन ओभर सहित २ विकेट लिए ।
त्यसपछि सन्दीपले क्रिकेट करियरमा पछाडी फर्केर हेर्नु परेको छैन ।

क्रिकेट करियर सुरु गरेको दुई वर्षमा उनले विदेशी फ्रेन्चाइज लिगमा खेल्दै नेपालका लागि 'ग्लोबल आइकन' बन्न पुगे ।
भारतको इण्डियन प्रिमियर लिगदेखि अष्ट्रेलियाको बिग बास हुँदै द हन्ड्रेडमा कीर्तिमानी मुल्य सहित उनले निरन्तर अविश्वसनीय उडान भरिरहेका छन् ।
सिनियर टिमबाट डेब्यु गर्नु दुई महिना अघिमात्र सन्दीपले यू–१९ टिमबाट विश्वकप खेलेका थिए ।
प्रतियोगितामा ह्याट्रिक विकेट लिदै सनसनी मच्चाएका सन्दीप चाँडै सिनियर टिममा पर्ने स्पष्ट संकेत गरिसकेका थिए ।
ह्याट्रिक विकेट नेपालको लागि नौलो थिएन । उनले भन्दा पहिलेनै सन् २०१३ को यू–१९ विश्वकपमा अविनास कर्णले सो सफलता आत्मसाथ गरेका थिए ।
तर ६ खेलमा १४ विकेट हात पार्दै सन्दीपले आफुलाई भविष्यको स्टारको रुपमा आफुलाई चिनाईसकेका थिए ।
सो विश्वकपमा एक विकेटले उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीको दोस्रो नम्बरमा रहे ।
हालका विश्व नम्बर एक टी–ट्वान्टी अन्तराष्ट्रिय बलर राशिद खान र सादाब खान सूचीको १२ औं र ११ औं स्थानमा थिए ।
सन्दीपले छोटो समयमा प्राप्त गरेको सफलता सहजै प्राप्ति भएको भने हैन । क्रिकेट प्रतिको लगन, मेहनत र धैर्यताले उनलाई न्याय गरेको छ ।
विदेशी फ्रेन्चाइज लिग खेल्ने पहिलो नेपाली मात्र नभएर सन्दीप टी–ट्वान्टी क्रिकेटमा एक सय विकेट लिने पहिलो र एक्ला खेलाडी हुन् ।
नेपालले खेलेको सबै एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलेका सन्दीपले २३ विकेट हात पारिसकेका छन् । यस्तै टी–ट्वान्टी अन्तराष्ट्रिय २१ खेल खेल्दै ३४ विकेट लिन सफल छन् ।

रोचक कुरा के भने सन्दीपले टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा आफ्नो देशबाट खेल्नु भन्दा पहिल्यै डेब्यु गरिसकेका थिए । सन्दीपले लर्ड्समा वेष्ट इण्डिजविरुद्ध विश्व–११ बाट टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।
हालसम्म सन्दीपले विश्वभरका सबै चर्चित र महंगा फ्रेन्चाईज प्रतियोगिता खेलेका छन् । विश्व क्रिकेटका स्टार खेलाडीसामु आफ्नो चुनौती पेश गरेका छन् ।
एसोसियट राष्ट्रबाट सन्दीपले प्राप्त गरेको सफलता पक्कै सानो हैन, उनले अझै लामो यात्रा तय गर्न बाँकी छ ।