एजेन्सी । ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्होका एजेन्ट किया जोराबचियनले कौटिन्हो प्रिमियर लिग फर्कन मन पराउने बताएका छन् ।
स्काई स्पोर्ट्ससँग कुरा गर्दै एजेन्ट कियाले कौटिन्हो प्रिमियर लिगमा रमाउने र उनी फर्कने धेरै सम्भावना रहेको बताएका छन् ।
कौटिन्हो पछिल्लो सिजन जर्मन क्लब वायर्न म्युनिखबाट खेलिरहेका छन् । स्पेनिस क्लब बार्सिलोनाले गत सिजन उनलाई लोनमा वायर्न पठाएको थियो ।
'म कुनै खेलाडीलाई अर्कोमा जान कर गर्दिन । मेरो कुनै प्राथमिकता हुँदैन । सबै कुराको सम्भावना छ,' उनले भने, 'च्याम्पियन्स लिगपछि हामीले यसबारे लामो छलफल गरेका थियौं । प्रिमियर लिग त्यस्तो चिज हो जहाँ उ खेल्दा सधै रमाइलो मान्छन् । खेल्न मन पराउछन् । सायद फर्कने छन् र खेल्नेछन् ।'
अट्याकिङ मिडफिल्डर कौटिन्हो सन् २०१८ मा लिभरपुलबाट १ सय ६० मिलियनमा बार्सिलोना आएका थिए । तर, उनले बार्सिलोनामा उत्कृष्ट प्रदर्शन भने गर्न सकेनन् ।
पछिल्लो समय कौटिन्हो अनुबन्धको लागि इन्ग्लिश क्लबले समेत चासो दिईरहेको छ । आर्सनल र चेल्सीले उनलाई अनुबन्धको लागि जोड गरिरहेका छन् ।