एजेन्सी । इटालियन क्लब लाजियोका मिडफिल्डर लुइस अल्बर्टोले सिरी 'ए' फुटबल जुन महिनाको पहिलो साताबाट पुन: सुचारु हुने आशा रहेको बताएका छन् ।
कोरोना भाईरसको महामारीको कारण इटालियन सिरी 'ए' फुटबल अनिश्चितकालीन समयका लागि स्थगित गरिएको छ ।
तर, स्पेनिस रेडियो ओन्डा सिरोसँग कुरा गर्दै अल्बर्टोले स्थगित लिग जुनबाट सुरु हुने आशा रहेको बताएका छन् ।
'मलाई लाग्छ कि हामी जुनको सुरूमा खेल सुरु गर्न सक्दछौं, तर यसको ठिक मिति दिन गाह्रो छ । यो भाईरसको विकासमा निर्भर हुन्छ,' उनले भनेका छन् ।
यस सिजन लिगमा लाजियो दोस्रो स्थानमा रहेको छ । कोरोनाको कारण स्थगित हुनु अघि लाजियो शीर्ष स्थानको युभेन्ट्स भन्दा १ अंकले पछि रहेको छ ।
स्पेनिस मिडफिल्डर अल्बर्टोले यस सिजन उपाधिका लागि टिम लागि परेको समेत बताए । उनले लिग चाँडो सकियोस भन्ने चाहेको समेत बताए ।
लिभरपुलका पूर्व मिडफिल्डर अल्बर्टो सन् २०१६ मा लाजियो आएका थिए । तर, उनले आफु सेभिया फर्कन चाहेको समेत बताए ।
'मैले सधै भन्ने गरेको छु किनभने सेभिया मेरो घर हो । र, म फर्कन चाहन्छु,' उनले भने ।