एजेन्सी । इटालियन फुटबल फेडेरेसनका अध्यक्ष गाब्रिले ग्राभिनाले कोरोना भाईरसले स्थगित इटालियन सिरी 'ए' फुटबल आगामी अगस्टसम्म भएपनि सम्पन्न गर्ने बताएका छन् ।
रेडियो मार्टेसँग कुरा गर्दै अध्यक्ष ग्राभिनाले लिग आगामी जुलाईबाट पुन: सुचारु गरेर अगस्टसम्म सक्ने योजना रहेको बताएका हुन् ।
'च्याम्पियनसिप सकिन हामीले सबै गर्नेछौँ । आवश्यकता परे जुन ३० भन्दा पछि जान युईएफए र फिफासँग अनुरोध गर्नेछौँ । र, जुलाई र अगस्टमा समेत खेलाउने छौँ,' उनले भने ।

चीनबाट फैलिएको कोरोनाको कारण इटालीमा आगामी अप्रिल ३ सम्म सम्पूर्ण खेलकुद गतिविधि बन्द रहेको छ । यस्तै इटालीमा कोरोनाले चीनमा भन्दा बढी मानिसको मृत्यु भईसकेको छ । इटालीमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७ हजार नाघी सकेको छ ।
यस्तै अध्यक्ष ग्राभिनीले अहिलेनै लिग सुचारुको मिति तय गर्नु नहुने समेत बताए ।
'मिति सोच्ने यो समय उपयुक्त हैन । तर, हामीले इटालियनको स्वास्थ्यको लागि सकारात्मक सोच्नु पर्छ । आशा छ कि यो अवस्था चाँडो समाप्त हुनेछ ।'