एजेन्सी । युरोपेली फुटबल महासंघ (यूईएफए)ले च्याम्पियन्स लिग फाईनल अनिश्चितकालका लागि स्थगित गरेको छ ।
कोरोना भाईरसको बढ्दो संक्रमणलाई ध्यानमा राखेर यूईएफएले सो निर्णय लिएको हो ।
च्याम्पियन्स लिगको फाईनल खेल टर्कीको ईस्तानबुलस्थित एटाटुरक ओलम्पिक स्टेडियममा खेलाउने तय थियो ।
यूईएफएका अनुसार यूरोपा लिग र वुमन च्याम्पियन्स लिगको फाईनल समेत स्थगित गरिएको छ ।
यूईएफएले प्रतियोगिताको वैकल्पिक मितिमा समेत निर्णय गरेको छैन ।
दुवै प्रतियोगिता मेमा सञ्चालन गर्ने तयारी थियो ।
सरोकारवाल पक्षबीचको बैठक विकल्पहरुको विश्लेषण गरेर निश्चित समयमा मिति घोषणा गर्ने यूईएफएले जनाएको छ ।
अन्तिम १६ को दोस्रो लेगको खेल सञ्चालन भईरहदाँ कोरोनाका कारण प्रतियोगिता स्थगित गरिएको थियो ।
गत हप्ता एट्लेटिको मड्रिडले लिभरपुल, पेरिस सेन्ट जर्मेन (पीएसजी)ले बोरुसिया डर्टमण्ड, एटलान्टाले भ्यालेन्सिया र आरबी लाइपीजिङले टोटेनहमलाई पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाएको थियो ।
अन्तिम १६ को दोस्रो लेगको चार चरणको खेल अझै बाँकी छ । म्यान्चेष्टर सिटीले रियल मड्रिड, युभेन्ट्सले लियोन, बार्सिलोनाले नापोली र बार्यन म्युनिखले चेल्सीसंग खेल्न बाँकी छ ।
यूईएफएले युरो २०२० लाई स्थगित गर्दै एक बर्ष पछि सञ्चालन गर्ने सहमती गरेको छ ।
कोरोनाको प्रभावका कारण विश्व फुटबल बन्द अवस्थामा छ । सोही भाईरसका कारण युरोपका ठुला क्लबको प्रतियोगिता च्याम्पियन्स लिगको मिति समय प्रभावित बनेको हो ।