कोरोनाबाट जोगिन फुटबलरको अपिल
काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट जोगिन नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुले आग्रह गरेका छन् ।
राष्ट्रिय टिमका महिला तथा पुरुष खेलाडीले सोमबार भिडियो सन्देशबाट कोरोनाको संक्रमणबाट जोगिन आग्रह गरेका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आधिकारीक फेसबुक पेजबाट सार्वजनिक गरिएको भिडियोमा राष्ट्रिय टिमका कप्तान किरण कुमार लिम्बु, उपकप्तान सुजल श्रेष्ठ, रोहित चन्द तथा महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ र गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले कोरोनाबाट बच्न र आफ्नो स्वास्थ्यमा खेलबाड नगर्न आग्रह गरेका छन् ।
भारतको आईलिगमा पञ्जाव एफसीबाट खेलेका गोलरक्षक किरणले आवश्यकता बाहेक अन्य कामका लागि घर बाहिर ननिस्कन र भिडभाडमा नजान आग्रह गरेका छन् ।
‘संसारभरी कोरानाले सबैलाई समस्यामा पारेको छ । कति मान्छे मरेका छन् । नेपालमा पनि यस्को समस्या नआओस् । भिडभाडमा नजानुस् । कुनै पनि आवश्यक काम छैन भने घरबाट बाहिर ननिस्कनु,’ भारतमै रहेका उनले भनेका छन् ।
यस्तै किरणले मास्क र सेनिटाईजरको प्रयोग गर्न सबै खेलकुद प्रेमिलाई आग्रह गरेका छन् ।
इन्डोनेसियाको शीर्ष डिभिजन लिग खेल्दै आएका अट्याकिङ मिडफिल्डर रोहित चन्दले नेपाल सरकारको नियम पालना गर्दै आफ्नो स्वास्थ्यको ख्याल गर्न अनुरोध गरेका छन् ।
‘कोरोना भाईरस कत्तिको घातक छ भन्ने हामीलाई थाहा छ । यसबाट बच्ने उपाय छन् । त्यसलाई अपनाउनुस । नेपाल सरकारले ल्याएको नियम पालना गरौं । सरकारलाई सहयोग गरौं,’ उनले भने ।
पर्सिजा जाकर्ताबाट खेल्दै आएका रोहितले यद्यपि नेपालमा कोरोना संक्रमण नदेखिएपनि त्यसबाट साबधानी अपनाउन आग्रह गरेका छन् ।
‘आफ्नो स्वास्थ्यको ख्याल गरौं । अतिआवश्यक काम बाहेक बाहिर ननिस्कनु होला । भिडभाड नगर्नु होला । आफै जिम्बेवारी भएर स्वास्थ्यको ख्याल गर्नूस्,’ रोहितले थपेका छन् ।
उपकप्तान सुजल श्रेष्ठले अत्यावश्क काम भएमात्रै बाहिर निस्कन र बजारमा आएका हावादारी न्युजको पछि नलाग्न अनुरोध गरेका छन् ।
यता, महिला टिमकी सदस्य सावित्राले कोरोनाबाट सजक रहँन र बजारमा फैलिएका अफवाहको पछि लागेर आतंकित नहुन आग्रह गरेकी छिन् ।
भर्खरै सम्पन भारतीय महिला आईलिगमा गोकुलम केरेलालाई उपाधि दिलाएका साम्बाले भनेकी छिन्, ‘कोरोनाले मान्छेहरुलाई सोच्न पर्ने बाध्य बनाएको छ । नेपाल पनि उच्च जाखिमा रहेको छ । हामी सबैले सरकारका निर्णयको पालना गरौं । अनावश्यक हल्लाको पछि लागेर आतंकित नबनौं ।’
नेपाली महिला फुटबलमा गोल मेसिनको उपमा पाएकी साम्बाले कोरोनाविरुद्ध गोल गर्न समेत आग्रह गरेकी छिन् । उनले भनिन्,‘ स्टे काम, स्टे सेप, स्टे होम, लेट्स स्कोर एगेन्स्ट कोरोना ।’
महिला टिमकी गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले नेपालीले कोरोनाको खासै मतलब नलिएपनि स्वास्थ्यको खेलबाड नगर्न आग्रह गरेकी छिन् ।
‘अहिले विश्वभर कोरोना १९ चलिरहेका छ । नेपालीले सिरियस नलिएको जस्तो लाग्छ । कतै बाहिर हिड्दा घुम्दा मास्कको प्रयोग गर्नुहोला । आफुपनि बाचौ अरुलाई पनि बचाउँ,’ एपीएफ क्लबकी एन्जिलाले भनिन् ।
यस्तै उनले सोसल मिडियामा आउने हावा न्युजको पछि नलाग्न र एक अर्कासँग सहयोगको भावना राख्न अनुरोध गरेकी छिन् ।
चीनबाट सुरु भएको कोरोना भाईरस विश्वभर फैलिएको छ । जसका कारण हजारौको ज्यान समेत गएको छ । लाखौ मानिसमा संक्रमण देखिएको छ ।
नेपालमा समेत एक १९ वर्षिय युवतीलाई कोरोनाको संक्रमण देखिएको छ ।