ला लिगा फुटबल अनिश्चित कालका लागि स्थगित
२०२० मार्च २३, सोमबारखेलपाटी संवाददाता

एजेन्सी । स्पेनमा सम्पूर्ण फुटबल गतिविधि अनिश्चित कालका लागि स्थगित गरिएको छ ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण स्पेनिस ला लिगासहित सम्पूर्ण फुटबल अनिश्चित समयका लागि स्थगित गरिएको हो ।
स्पेनको सरकारले कोरोनाको महामारी रोकिएको घोषणा नगरेसम्म फुटबल गतिविधि बन्द गर्ने निर्णय स्पेनिस फुटबल फेडेरेसन र ला लिगाले गरेको हो ।
स्पेनको शीर्ष डिभिजन लिगमा बार्सिलोना शीर्ष स्थानमा रहेको छ । बार्सिलोनाले रियल मड्रिडलाई २ अंकले पछि बनाएर शीर्ष स्थान ओगटेको हो ।
स्पेन सरकारले आइतबार आपतकालीन घोषणा आगामी अप्रिल ११ सम्म बढाएको थियो ।
स्पेनमा ३३ हजार ८९ जनालाई कोरोनाको संक्रमण देखिएको छ । हालसम्म स्पेनमा २ हजार १८२ जनाको मृत्यु भईसकेको छ ।