एजेन्सी । चेल्सीका लिजेण्ड जोन टेरीले बोरुसिया डर्टमण्डका युवा स्टार जाडोन साञ्चोलाई अनुबन्धन गर्न लण्डन क्लबलाई सुझाव दिएका छन् ।
चेल्सी पछिल्लो समय इंग्ल्यान्डका अन्तराष्ट्रिय खेलाडी साञ्चोसंग जोडिएको छ । साञ्चो पछिल्लो समय युरोपेली क्लब फुटबलका उत्कृष्ट युवा स्टारको रुपमा उदाएका छन् ।
१९ बर्षका साञ्चोले सन् २०१७ मा प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटीबाट बुन्डेश लिगा क्लब डर्टमण्ड गएका थिए । उनले डर्टमण्डका लागि ९० खेलमा ३१ गोल गर्नुका साथै ३६ गोलको अवसर सिर्जना गरेका छन् ।
डर्टमण्डका स्टार साञ्चो समेत इंग्ल्यान्ड फर्कने विकल्पमा खुल्ला छन् ।
तर चेल्सीमात्र साञ्चो अनुबन्धनको अगाडी छैन । म्यान्चेष्टर युनाईटेड र लिभरपुल समेत साञ्चो अनुबन्धनमा मेहनत गरिरहेका छन् ।
चेल्सीका पूर्व स्टार टेरी साञ्चोलाई स्टामफोर्ड ब्रिज ल्याउन सक्दो कोशिश गर्नपर्ने सुझाव दिन्छन् ।
'साञ्चोको अनुबन्धनसंगै क्लबका युवा स्टार टमी अब्राहम र मेसन माउन्टको प्रर्दशनमा समेत निखार आउनेछ ।' उनले भनेका छन् ।
'मलाई लाग्छ, युवा खेलाडीले आफ्नो क्षमता प्रर्दशन गरेका छन् ।' टेरीले भनेका छन्, 'मलाई लाग्छ, साञ्चो विश्व फुटबलमा अहिलेका सबैभन्दा राम्रा युवा स्टार हुन् । उनको अनुबन्धनले चेल्सीमा ठुलो चिज थपिनेछ ।'
युवा खेलाडीकै प्रर्दशनमा चेल्सीले प्रिमियर लिगमा आफुलाई अब्बल सावित गर्दै राम्रो नतिजा निकालेको छ । खेलाडी सरुवामा प्रतिबन्ध भोगेको चेल्सीलाई युवा टोलीले राम्रो नतिजा दिएका छन् ।
चेल्सीका पूर्व कप्तान युवा खेलाडी आफ्ना सहकर्मी फ्रान्क लाम्पार्डको नेतृत्वमा चम्किएकोमा खुसी व्यक्त गर्छन् ।
'यो अविश्वसनीय भएको छ । लाम्पार्डले राम्रो काम गरेका छन् । किनकी त्यो कामका लागि अरु कोही राम्रो छैनन् ।' टेरीले थपेका छन्, 'सहायक प्रशिक्षक बनेका जोडी मोरिसले राम्रो काम गरेका छन् । उनीहरु युवा खेलाडी चिन्छन् र त्यही स्तरमा काम गर्छन् ।'