प्रशिक्षक कालिन स्वदेश फर्कदै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिन स्वदेश फर्कने भएका छन् ।
विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड-१९) को कारण नेपालको फुटबल गतिविधि ठप्प भएपछि प्रशिक्षक कालिन स्विडेन फर्कन लागेका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक कालिन आज (शनिबार) स्वदेश फर्कने जनाएको छ ।
‘कोरोनाको कारण खेलकुद गतिविधि रोकिएपछि प्रशिक्षक पनि स्वदेश फर्कदै हुनुहुन्छ,’ एन्फा महासचिब इन्द्रमान तुलाधरले खेलपाटीसँग भने ।
कालिन अपरान्ह ४ बजे स्विडेन प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
सहिद स्मारक 'ए' डिभिजन लिग सक्किए लगत्तै कालिनले फिफा विश्वकप छनोट अन्तर्गत चाईनिज चाईपे र अष्टेलियासँग खेलको लागि टिमको तयारी सुरु गरेका थिए । तर, कोरोनाको कारण एन्फाले सुरुवाती प्रशिक्षणनै स्थगित गरेको थियो ।
कालिन कोरोनाको त्रास रोकिएपछि नेपाल फर्कने बताईएको छ ।
‘उहाँ कहिले आउने भन्ने छैन । स्थिति सामान्य भएपछि हामीले बोलाउने छौं,’ महासचिव तुलाधरले भने ।
कालिनको नेतृत्वमा फिफा विश्वकप छनोटको ५ खेल खेलेको नेपालले १ खेलमा जित हात पार्दा ४ खेलमा हार ब्यहोरेको छ ।
कालिन ७५ साल चैतमा राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारीसहित नेपाल आएका थिए ।