एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण विश्वको खेलकुद ठप्प जस्तै छ ।
विश्वभर संचालनमा रहेका तथा सुरु हुने तयारीमा रहेका सबै खेलकुद प्रतियोगिता स्थगित भएका छन् ।
सुरु हुन केही महिना बाँकी रहेका प्रतियोगिता समेत अन्योलमा रहेका छन् । जापानमा हुने ओलम्पिक देखि अष्ट्रेलियामा हुने पुरुष टी-ट्वान्टी विश्वकप अन्योलमा देखिएको छ ।
तर, अष्ट्रेलियाले भने टी-ट्वान्टी विश्वकप सार्ने तयारी नभएको बताएको छ। यसै वर्षको अक्टोबर र नोभेम्बरमा पुरुष टी-ट्वान्टी विश्वकप अष्ट्रेलियाले आयोजना गर्ने तालिका रहेको छ ।
क्रिकेट अष्ट्रेलियाका प्रमुख कार्यकारी केभिन रोबर्ट्सले ट- ट्वान्टी विश्वकप नसर्ने बताएका छन् ।
टी-ट्वान्टी विश्वकपको प्रि-क्वालिफाइङ अक्टोबर १८ देखी २३ सम्म जिलोङ र होबार्टमा संचालन हुनेछ। यस्तै प्रमुख १२ राष्ट्रको भिडन्त भने अक्टोबर २४ देखी सिड्नीमा सुरु हुनेछ।
जिलोङ र होबार्टमा अष्ट्रेलियन फुटबल लिगको खेलहरु समेत हुने गरेको छ । कोरोना भाइरसका कारण फुटबल लिग अक्टोबरको अन्त्यबाट पुन: सुचारु गर्ने तयारी रहेको बताईएको छ। जसले गर्दा टी-ट्वान्टी विश्वकपको खेल तालिकामा असर गर्ने देखिएको हो ।
तर, रोबर्ट्सले हालसम्म विश्वकप सार्ने तयारी नभएको र तोकिएको समयमा नै संचालन गर्ने बताए ।
'आशा गरौँ सबै खाले प्रतियोगिता केही हप्ता वा महिनामानै संचालनमा आउने छन्,' रिबर्ट्सले भने, 'हामी मध्य कोही पनि यस अवस्थाको विज्ञ हैनौं। त्यसैले आशा गरौ चांडै सबै ठिक हुनेछ र समयमा विश्वकप समेत संचालन हुनेछ ।'
यस्तै क्रिकेट अष्ट्रेलियाले विश्वकपको फाइनल खेल नोभेम्बर १५ मा मेलवर्नको एमसीजीमा गराउने तयारी समेत उनले बताए ।
गत हप्ता समापन भएको महिला टी-ट्वान्टी विश्वकपको फाइनल समेत एमसीजीमा भएको थियो ।
'अहिलेको अवस्थामा समयमा विश्वकप गराउने तयारी गरिरहेका छौं। मेलवर्न फाइनलको स्थान हो,' उनले थपे, 'अष्ट्रेलियन फुटबल लिगसंग हाम्रो कुरा भएको छैन र उनी हरुले समेत हामीलाई सम्पर्क गरेका छैनन् । तर कन्फेरेन्स कलमा यो अवस्थाबारे कुरा भएको छ ।'