काठमाडौं । मार्च १५, नेपाली क्रिकेट ईतिहासमा निकै खास दिनको रुपमा रहेको छ । जिम्बावेमा भएको आईसीसी विश्वकप एक दिवसीय छनोट प्रतियोगितामा नेपाल छनोट हुन त सकेन तर एक दिवसीय अन्तराष्ट्रिय मान्यताको एतिहासिक सफलता हात पर्यो ।
ठ्याक्कै दुई वर्ष पहिले सन् २०१८ मा नेपालले एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाएको हो ।
आजैकाे दिन नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्यो । प्रतियोगितामा छनोट हुन नसके पनि नेपाललाई एकदिवसीय अनतराष्ट्रिय मान्यता पाउने सुनौलो अवसर बाँकी थियो ।
लगत्तै नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेपछि नेपालले एकदिवसीय मान्यता पाउने पक्का भएको थियो ।
सो सफलता नेपाली क्रिकेट इतिहासमा निकै महत्पूर्ण थियो । नेपालले प्राप्त गरेको एकदिवसीय मान्यतालाई क्रिकेट इतिहासमा अर्को फड्को मानिएको थियो ।
क्रिकेटको अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेको अवस्थामा एकदिवसीय मान्यता प्राप्त गर्नु सानो उपलब्धि थिएन । क्यान निलम्बनको २ वर्ष बितेको अवस्थामा नेपालले २० वर्षे क्रिकेट इतिहासमा पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको थियो । त्यो पनि चार वर्षको लागि ।
एकदिवसीय अन्तराष्ट्रिय मान्यतापछि नेपालले क्रिकेटमा अझ ठुलो सफलता हात पार्ने अपेक्षा गरिएको थियो । तर दुई बर्ष आशमै बित्यो ।
अब नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता मात्र दुई वर्ष बाँकी छ । पछिल्लो दुई वर्ष हेर्दा नेपाललाई एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउन समेत मुस्किल देखिएको छ ।
एकदिवसीय अन्तराष्ट्रिय मान्यता भनेको क्रिकेटको गणितमा टेष्ट भन्दा एक स्थान तलको मान्यता हो । यस स्थानमा उल्लेखनीय सफलता हात पार्ने सके सबै भन्दा माथिल्लो स्तरको क्रिकेट मान्यता टेष्ट राष्ट्रको मान्यता पाउने सम्भावना रहन्छ । क्रिकेट खेल्ने सबै राष्ट्रको लागि टेष्ट मान्यता अन्तिम सपना हुन्छ ।
त्यसैले नेपालको पनि लक्ष्य भनेको टेष्ट राष्ट्रको हो ।
तर पछिल्लो प्रर्दशन र नतिजा हेर्दा परिस्थिती प्रतिकुल जस्तै देखिन थालेको छ । नेपाललाई एकदिवसीय अन्तराष्ट्रिय मान्यता समेत जोगाउन हम्मे हम्मे पर्ने देखिएको छ ।
नेपालले हाल सम्म १० एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेको छ । जसमा नेपाल ५ पटक विजयी र ५ पटक पराजित छ । नतिजाको हिसाबमा नेपालले चाहे अनुरुप प्रगति गर्न सकेको छैन ।
नेपालले ४ खेल युएई तथा नेदरल्यान्ड्स, ओमान र अमेरिकासंग समान २–२ पटक खेलेको छ ।
नेपालले खेलेको एकदिवसीय अन्तराष्ट्रिय खेलमा केहि कीर्तिमान बनाउन सफल छ । कुशल मल्ल, एकदिवसीय अन्तराष्ट्रिय खेलमा अर्धशतक बनाउने विश्वका कान्छा खेलाडी हुन् । उनले नेपालकै रोहित कुमार पौडेलको कीर्तिमान भंग गरेका थिए ।
यसअघि रोहितले क्रिकेटका हस्ती सचिन तेन्दुलकर र साहिद अफ्रिदीको कीर्तिमान तोड्दै आफ्नो नाममा विश्व कीर्तिमान बनेका थिए ।
यसैबीच नेपालले पहिलो पटक एकदिवसीय सिरिज जित्न समेत सफल भयो । नेपालका लागि एकदिवसीय खेलमा शतक प्रहार गर्ने तत्कालिन कप्तान पारस खड्का मात्र हुन् । एकै खेलमा ५ विकेट लिने खेलाडीमा भने सोमपाल कामी र सन्दीप लामिछाने रहेका छन् ।
नेपालको लागि एकदिवसीय अन्तराष्ट्रिय खेलमा ८ खेलाडीले अर्धशतक बनाएका छन् ।
यसैबीच, नेपालको एक मात्र अन्तराष्ट्रिय क्रिकेट मैदान, त्रिवि क्रिकेट मैदानले एकदिवसीय अन्तराष्ट्रियको मान्यता पायो ।

एकदिवसीय मान्यता पाएपछि नेपाली समर्थकले थुप्रै आशा बोकेका थिए । नेपाल अब अन्तराष्ट्रिय खेलमा अन्य राष्ट्र जस्तै निरन्तर हुन्छ, खेलाडीले राम्रो सेवा सुबिधा पाउनेछन्, नेपालले स्तरीय क्रिकेट खेल्ने छ, टेष्ट राष्ट्रको खेलाडीसंग बरियता तुलना गर्न पाईनेछ, आदि इत्यादि ।
तर समर्थकको सपना सपनामै सिमित छ । न नेपालले स्तरीय खेल खेल्न सकेको छ, न खेलाडीले राम्रो सुबिधा पाएका छन्, न नेपाली क्रिकेट दुई बर्षको अवधिमा ब्यस्तनै रह्यो ।
दुई वर्षमा नेपालले मात्र १० एकदिवसीय खेल खेल्नु आफैमा सुखद सन्देश हैन ।
क्यान निलम्बन रहेको अवस्थामा सिरिज आवहान गर्न नसकिएको हो । तर अवस्था फेरिएको छ । अहिले क्यान पुर्नस्थापित भएको छ । आशा छ, अब नेपालले आफै स्तरीय राष्ट्रसंग सिरिज आह्वान गर्दै राष्ट्रिय क्रिकेट टिमलाई ब्यस्त राख्नेछ ।
हाल नेपाल एकदिवसीय विश्वकप खेल्ने र एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउने लक्ष्यमा रहेको छ ।
नेपालले विश्वकप क्रिकेट लिग–२ अन्तर्गतका सिरिज खेलिरहेको छ ।
लिग–२ मा एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएका ७ राष्ट्र रहेका छन् । जहाँ सन् २०२२ सम्ममा हरेक राष्ट्रले ३६ एकदिवसीय खेल खेल्ने छन् । लिगको अन्त्यमा शीर्ष तीनमा पर्ने टिमले सन् २०२३ मा हुने विश्वकपको लागि सिधै विश्वकप छनोटमा स्थान बनाउने छ ।
त्यस्तै एकदिवसीय वरियतामा सुधार गर्दै थप चार वर्षको लागि एकदिवसीय अन्तराष्ट्रिय मान्यता लम्ब्याउने अवसर रहने छ । सुन्दा जति सहज देखिन्छ, एकदिवसीय वरियता जोगाउनै नेपालको लागि चुनौतीपुर्ण देखिन्छ ।
लिग–२ मा नेपालले ३६ मध्य ३२ खेल खेल्न बाँकी छ । खेलेको ४ खेलमा २ जित निकाल्दा २ हार ब्यहोरेको छ । आउने खेलहरु आफु भन्दा बलियो टिमसंग खेल्ने छ । यता, नेपालको प्रदर्शन दिन दिनै ओरालो लागेको देखिन्छ ।
अब नेपालले बाँकी २ वर्षमा कम्तिमा ३२ एकदिवसीय खेल खेल्ने छ ।
बाँकी खेल निकै महत्वपूर्ण रहेको कारण थप स्तरीय क्रिकेट खेल्दै नेपालले लिगको बाँकी खेलका लागि तयारी गर्नुपर्ने छ ।
बेलैमा नेपालले आफ्नो कमजोरीको कारण तत्व पत्ता लगाएर समाधान नगरे एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाईराख्न गाह्रो पर्ने देखिन्छ ।
करिब ४ वर्षको निलम्बनपछि क्यान अस्तित्वमा आएको छ । क्यानले समेत एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउने आफ्नो लक्ष्य बताउंदै आएको छ ।
एकदिवसीय अन्तराष्ट्रियको मान्यता अब मात्र २ वर्ष बाँकी छ । त्यसैले क्यानले अब घरेलु क्रिकेटको तत्कालिन र दिर्घकालिन विकास रणनीति बनाउन ढिला गर्नुहुन्न ।