एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) १८ दिन पछाडी सरेको छ ।
विश्वमा फैलदो कोरोना भाईरसका कारण विश्व क्रिकेटको प्रसिद्ध फ्रेन्चाईज प्रतियोगिता १८ दिन पछाडी सार्ने निर्णय भएको हो ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले खराब अवस्थालाई केन्द्रमा राख्दै सो निर्णय लिएको जनाएको छ ।
पछिल्लो निर्णय अनुसार अब आईपीएल अप्रिल १५ बाट सुरु हुनेछ ।
बीसीसीआईले भनेको छ, 'क्रिकेट प्रशंसक र क्रिकेटसंग जोडिएका सबै मानिसलाई सुरक्षित क्रिकेट अनुभव गराउने उद्धेश्यले आवश्यक कदम चालिएको छ ।'
यसअघि आईपीएलको नयाँ संस्करण मार्च २९ बाट सुरु गर्ने तयारी थियो ।
विश्व क्रिकेटका ठुला स्टार खेलाडी सहभागी हुने आईपीएललाई लिएर विभिन्न आशंका थिए । दिल्ली सहितका केही राज्यले आफ्नो राज्यमा आईपीएलको खेल गराउन नसक्ने बताएका थिए । केही राज्यले बन्द रंगशालामा आईपीएल खेलाउनुपर्ने माग गरेका थिए ।
तर उल्लेख्य दर्शकको उपस्थिती रहने आईपीएललाई केही दिन पछाडी सार्ने अप्रिल १५ बाट प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएको हो ।