एजेन्सी । आईसीसी विश्वकप लिग-२ अन्तर्गत छैठौं चरणको सिरिज अनिश्चित समयका लागि स्थगित भएको छ ।
महामारीको रुपमा विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण अमेरिकामा तय भएको छैठौं चरणको सिरिज स्थगित भएको हो ।
लिग-२ को छैठौं चरणकाे सिरिजमा अमेरिकाले यूएई र स्कटल्याण्डलाई आतिथ्यता प्रदान गर्ने तालिका थियो । फ्लोरिडामा अप्रिल १ देखि ६ सम्म संचालन हुने सिरिज स्थगित गरिएको अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले जनाएको छ ।
आईसीसीले अमेरिका क्रिकेट बोर्ड, युएई क्रिकेट बोर्ड र स्कटल्याण्ड क्रिकेट बोर्डसंग छलफलसंगै सिरिज स्थगित गर्ने निणय लिएको हो ।
अनियन्त्रित रुपमा कोरोना भाइरस फैलिएपछि अमेरिकाले बिभिन्न राष्ट्रको अन्तराष्ट्रिय विमान आगमन बन्द गरेको छ ।
यस्तै, नेपालले लिग-२ अन्तर्गत सातौं सिरिज नामिबियामा खेल्दै छ । अप्रिल २० देखि सुरु हुने भनिएको सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्ड रहेका छन् ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ प्रतियाेगिता सन् २०२३ मा आयोजना हुने विश्वकप पुग्ने बाटो समेत हो ।
लिग–२ मा सात देश रहेका छन्।
२०१९ को अगष्टबाट सुरु भएको लिग–२ मा नेपाल, अमेरिका, ओमान, स्कटल्यान्ड, नामिविया, युएई र पपुवा न्युगिनी रहेका छन् ।
एउटा टिमले लिग–२ मा ३६ वटा एकदिवसीय खेल खेल्नेछ । लिग–२ को शीर्ष ३ टिमले २०२३ को विश्व कप छनोटमा सिधै स्थान बनाउने छन् ।