पोखरा । पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज (बिहिबार) हुँदैछ ।
पोखरा रंगशालामा हुने दोस्रो सेमिफाइनलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
दुवै टिम फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । गत संस्करणमा फाइनलमा चुकेको आर्मी लगातार दोस्रो सिजन फाइनल खेल्न चाहन्छ ।
आहा रारामा सफल रहदै आएको मनाङ पनि आर्मीलाई हराएर फाइनल स्थान सुरक्षित गर्न चाहन्छ ।
आर्मीले क्वाटरफाइनलमा 'ए' डिभिजन प्रतिद्वन्द्वी संकटा क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । मनाङले झापा-११ लाई १-० गोल अन्तरले हराएको थियो।
आर्मी र मनाङबीचको विजेताले फाइनलमा नेपाल पुलिस क्लबसँग खेल्ने छ । फाइनल खेल शनिबार हुनेछ ।
पहिलो सेमिफाइनलमा साविक विजेता थ्री स्टार क्लबलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगिसकेको छ ।
सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।