काठमाडौं । सातदोबाटो युथ क्लबले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा लगातार चौंथो जित हात पारेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार पुल्चोक स्पोर्ट्स क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सातदोबाटोले लगातार चौंथो जित निकालेको हो ।
सातदोबाटोको जितमा भुवन बस्नेतले निर्णायक गोल गरे । उनले खेलको इन्जुरी समयमा गोल गरेका थिए ।
जितसँगै सातदोबाटो लिगको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोले ४ खेलमा १२ अंक जोडेको छ ।
यस अघि सातदोबाटोले श्री कुमारी क्लब, नयाँ बस्ती युथ क्लब र टुसाल युथ क्लबलाई हराएको थियो ।
पुल्चोकको यो लगातार चौंथो हार हो । लिगको पुछारमा रहेको पुल्चोकले अंक जोड्न सकेको छैन ।
आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम 'ए' डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम 'सी' डिभिजनमा घटुवा हुनेछ ।