एजेन्सी । इजिप्टमा एक फुटबल खेलाडीले ७५ वर्षको उमेरमा व्यावसायिक फुटबलमा डेब्यु गरेका छन् ।
इजिप्टका एजील्डीन बहादेरले ७५ वर्षको उमेरमा व्यावसायिक फुटबलमा डेब्यु गरेका हुन् ।
द अक्टोबर सिक्स क्लबका फरवार्ड बहादेरले शनिबार इजिप्टको तेस्रो डिभिजन लिगमा जिनिअसविरुद्ध मैदान उत्रदै ७५ वर्षको उमेरमा डेब्यु गरेका हुन् ।

व्यावसायिक फुटबलको डेब्यु खेलमा ९० मिनेट खेल्दै बहादेरले एक गोल समेत गरे । जिनिअसविरुद्ध १-१ गोलको बराबरीमा सकिएको खेलमा उनले पेनाल्टीमा गोल गरेका थिए ।
'म अफिसियल खेलमा गोल गर्ने सर्वाधिक उमेरको खेलाडी बनेको छु,' खेलपछि उनले भने ।

इजिप्ट फुटबल फेडेरेसनले गत जनवरीमा उनलाई खेल्न अनुमति दिएको थियो । त्यसपछि उनी द अक्टोबर सिक्समा अनुबन्ध भएका थिए ।
अब थप एक खेलमा ९० मिनेट खेल्न सके उनी सर्वाधिक उमेरको फुटबल खेलाडीको कीर्तिमान बनाउने छन् ।
उनको टिमले आगामी मार्च २१ मा खेल्दैछ । उक्त खेलमा ९० मिनेट खेल्न उनले निकै कठिन तयारी गरिरहेका छन् । उक्त खेलबाट उनले सर्वाधिक उमेरको फुटबल खेलाडी बन्दै गिनीज बुक रेकर्डमा आफ्नो नाम दर्ता गराउनेछ ।

चार छोरा र ६ जनाका हजुरबुबा रहिसकेका बहादेरले इजरायलका इशक हायिकको कीर्तिमान भंग गर्नेछन् । हायिकले गत वर्ष ७३ वर्ष ९५ दिनमा मैदान उत्रदै सर्वाधिक उमेरका फुटबल खेलाडीको कीर्तिमान बनाएका थिए ।
पेशाले बहादेर सिभिल इन्जिनियर हुन् ।

