एजेन्सी । रियल मड्रिडका मिडफिल्डर क्यासमिरोले रियल बेटिससंगको हार उपाधि होडमा महङ्गो पर्न सक्ने बताएका छन् ।
आईतबार राति भएको खेलमा मड्रिड क्लब बेटिससंग २–१ ले पराजित बनेको थियो । लिगमा ११ खेल मात्र बाँकी रहदाँ रियल मड्रिड दोस्रो स्थानमा छ ।
क्यासमिरोले नतिजालाई अस्विकार गर्न नसकिने भन्दै उपाधि रक्षामा हार महङ्गो पर्न सक्ने बताए । लिग तालिकामा रियल शीर्ष स्थानको बार्सिलोना भन्दा दुई अंकले पछाडी परेको छ ।
'उनीहरुले राम्रो खेले । त्यहाँ कुनै छुट थिएन । फुटबल साधारण छ ।' मिडफिल्डरले क्लबको वेव साईटमा भनेका छन् ।
'ला लिगामा सबै खेल कठिन हुन्छ । ला लिगा जित्न सबै खेल राम्रो खेल्नुपर्ने हुन्छ । तर हामीले राम्रो खेल्न सकेनौ ।' उनले थपे ।
'हामीले कठिन मेहनत जारी राख्नुपर्छ । हामी जितका लागि तयार थिएनौ । हामीले बार्सिलोनाबिरुद्व जस्तो खेल्न जरुरी छ ।' क्यासमिरोको भनाई छ ।
डी सिल्भा जुनियरको अग्रतालाई करिम बेन्जिमाले पेनाल्टीमा गोल गर्दै बराबरी गरेका थिए । तर ८२ औ मिनेटमा क्रिस्टियन टेलोले बेटिसका लागि विजयी गोल गरेका थिए ।
खेलपछि जिनेदिन जिदानले हारको सम्पूर्ण जिम्मेवारी आफुले लिने भन्दै बेटिसबिरुद्व सिजनकै खराब प्रर्दशन गरेको उल्लेख गरे ।
'हामीले केही गर्न सकेनौ । यसको जिम्मा म लिन्छु । के भएको हो, हेर्नेछु । हामीले लिगको अन्तिमसम्म मेहनत गर्नेछौ ।' जिदानले भनेका छन् ।
'अन्तिम सम्म खेलाडीको साथमा छु । यसको जिम्मेवार मै हुँ । हामी विश्लेषण गर्नेछौ, र कसरी अगाडी बढ्ने योजना निकाल्नेछौ ।' उनले थपे ।