एजेन्सी । दक्षिण अफ्रिकाबिरुद्व हुने तीन एक दिवसीय खेलका लागि भारतीय टिमको घोषणा गरिएको छ ।
आगामी बिहिबारबाट सुरु हुने सिरिजमा हार्दिक पाण्डेयाले भारतीय टिममा पुनरागमन गरेका छन् । यस्तै शिखर धवन र भुवनेश्वर कुमार समेत टिममा फर्किएका छन् ।
सुनील जोशी नेतृत्वको रहेको छनोट समितिले भारतीय टिमको छनोट गरेको हो ।
दक्षिण अफ्रिकाबिरुद्व घरेलु मैदानमा हुने सिरिजमा विराट कोहलीले टिमको कप्तानी गर्नेछन् । उपकप्तान रोहित शर्मा मांसपेशी चोटका कारण टिम बाहिर छन् ।
उनी मार्च २९ बाट सुरु हुने आईपीएलमा मैदानमा फर्कने सम्भावना छ ।
न्युजिल्याण्डबिरुद्व पाँचौ तथा अन्तिम टी–ट्वान्टी खेलमा उनको मांशपेशीमा समस्या देखिएको थियो । सोही कारण उनलाई न्युजिल्याण्डबिरुद्ध एक दिवसीय मात्र नभएर टेष्ट सिरिजबाट समेत बाहिर राख्न परेको थियो ।
२६ बर्षका अलराउण्डर हार्दिक भारतीय टिममा पुनरागमन गर्न सफल रहे । उनले डीवाई पाटिल टी–२० कपमा शतक प्रहार गरेका थिए ।
पाण्डेयालाई पाँच महिना अगाडी कम्मरमा चोट लागेको थियो । त्यसपछि उनको लण्डनमा शल्यक्रिया गरिएको थियो ।
३४ बर्षका ब्याट्सम्यान शिखर धवन समेत टिममा परेका छन् । जनवरी १९ मा अष्ट्रेलियाबिरुद्व बेंङ्गलोरमा भएको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा उनले चोट बोकेका थिए । सो खेलमा धवनलाई बायाँ काधमा चोट लागेको थियो । धवनसंगै भुवनेश्वर कुमार समेत डीवाई पाटिल टी–२० कपमा उत्रिएका थिए । भुवनेश्वरको समेत हर्नियाको अप्रेसन भएको थियो ।
केदार जाधवले टिममा स्थान बनाउन सकेनन् । उनी मार्च २६ मा ३५ बर्षको पुग्नेछन् । अनुभवी जाधवको स्थानमा शुभमन गिललाई अवसर दिईएको छ । शिवम दुबे, शार्दुल ठाकुर, मोहम्मद शमी र मयंक अग्रवाललाई समेत टिममा राखिएको छैन । सबै खेलाडी न्युजिल्याण्डबिरुद्वको टिममा परेका थिए ।
शिखर धवनको आगमनसंगै मयंक अग्रवाल टिमबाट बाहिरिए । न्युजिल्याण्डबिरुद्वको खेलमा उनले मौकाको फाईदा उठाउन असफल भएका थिए । पृथ्वी शाको राम्रो ब्याटिङलाई हेरेर उनलाई टिममा राखिएको छ ।
भारतीय टिम : शिखर धवन, पृथ्वी शा, विराट कोहली, केएल राहुल, मनीष पाण्डे, श्रेयस अय्यर, ऋषभ पन्त, हार्दिक पाण्डे, रविन्द्र जडेजा, भुवनेश्वर कुमार, युजवेन्द्र चहल, जसप्रिस बुमराह, नवदीप सैनी, कुलदीप यादव, शुभमन गिल ।