काठमाडौं । पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकपको तेस्रो क्वाटरफाइनल खेल आज (सोमबार) हुँदैछ ।
पोखरा रंगशालामा हुने तेस्रो क्वाटरफाइनलमा साविक विजेता थ्री स्टार र गान्तोक सिटी एफसी सिक्किमबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र गान्तोकबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुवै टिम सेमिफाइनलमा पुग्ने तेस्रो टिम बन्न चाहन्छ ।
थ्री स्टार पाहुना टोलीलाई हराएर उपाधि रक्षाको अभियानमा हुनेछ । गान्तोक साविक विजेतालाई हराएर अन्तिम चारमा पुग्न चाहन्छ ।
दुवै टिम बाई पाएर क्वाटरफाइनल खेल खेल्न लागेका हुन् ।
विजेताले सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबसँग खेल्नेछ । पुलिस आयोजक सहारा क्लब पोखरालाई हराएर सेमिफाइनल पुगिसकेको छ ।
सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।