काठमाडौं । सातदोबाटो युथ क्लबले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित हात पारेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहिबार टुसाल युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सातदोबाटोले लगातार दोस्रो जित निकालेको हो ।
सातदोबाटोको जितमा रमेश कुमार राजवंशीले निर्णायक गोल गरे । उनले खेलको ३८ औं मिनेटमा गोल गरेका थिए ।
यस अघि पहिलो खेलमा सातदोबाटोले नयाँ बस्ती युथ क्लब २-० गोल अन्तरले पराजित गरेको थियो ।
जितसँगै सातदोबाटोले २ खेलमा ६ अंक जोडेको छ । टुसालले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा टुसालले पुल्चोक स्पोर्ट्स क्लबलाई २-० गोल अन्तरले पराजित गरेको थियो।
आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम 'ए' डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम 'सी' डिभिजनमा घटुवा हुनेछ ।