काठमाडौं । घरेलु फुटबलमा चर्चित फरवार्ड ओलावाले अफिज मनाङ मस्याङदी क्लबमा आबद्ध भएका छन् । पछिल्लो समय साउदी अरबमा व्यवसायीक फुटबल खेलिरहेका अफिज मनाङमा फर्किएका हुन् ।
'राष्ट्रिय लिग खेल्ने गरि अफिजलाई क्लबमा फर्काईएको हो ।' मनाङका महासचिव अनिल गुरुङले खेलपाटीसंग भने ।
मनाङका आबद्ध हुन अफिज बुधबार नेपाल आएका छन् ।
'कागजी प्रक्रियामा केही दिन लाग्नेछ । उनले पोखराको आहा रारा गोल्डकप क्लबबाट खेल्नेछन् ।' गुरुङले थपे ।
मनाङ अहिले बुढाशुब्बा गोल्डकप खेल्न धरानमा छ । मनाङ मोफसलको पहिलो प्रतियोगिता सताक्षी गोल्डकपमा आयोजकसंग पहिलो खेलमै पराजित भएको थियो ।
गत सिजन मनाङले ए डिभिजन लिग जित्दा अफिज क्लबमा मुख्य सदस्य थिए ।
राष्टिय टिमका अधिकांश सदस्य मछिन्द्र क्लबमा आबद्ध भएपछि मनाङ मुख्य फरवार्डको खोजीमा थियो । सोही कारण उसले घरेलु फुटबलका प्रभाव छाड्न सफल अफिजलाई क्लबमा आबद्ध गर्न सफल भएको हो ।
अफिजले गत सिजनको लिगमा मनाङबाट सर्वाधिक ७ गोल गरेका थिए । उनकै प्रेरणादायी प्रर्दशनमा मनाङले लिग उपाधि उचालेको थियो । अफिजले मनाङबाटै एएफसी कप समेत खेलेका थिए ।
लगत्तै उनी साउदी अरबमा खेल्न लागेका थिए ।
नयाँ सिजन सुरु हुनै लाग्दा मनाङ सहितका क्लबले अफिजलाई अनुबन्धनको प्रयास गरेका थिए । तर उनले साउदी अरबको गन्तव्यनै राजे ।
क्लबका अनुसार अफिजले मोफसलका सबै प्रतियोगिता मनाङबाट खेल्नेछन् । राष्ट्रिय लिग भएको अवस्थामा उनले मनाङबाटै खेल्नेछन् ।
तत्काल भने क्लबले उनलाई दुई महिनाको मात्र सम्झौता दिएको छ । राष्ट्रिय लिग भएको खण्डमा सम्झौताको अवधि बढाउन दुवै पक्ष तयार छन् । दुवै पक्ष सम्झौताको रकम खुलाउन चाहदैनन् ।
प्राविधिक र शारिरिक रुपमा बलिया अफिज घरेलु फुटबलका चर्चित र प्रभावशाली फरवार्ड हुन । उनलाई क्लबमा ल्याउन मनाङ, मछिन्द्र सहितका ठुला क्लब तयार थिए । अन्तिममा मनाङले अफिजको अनुबन्धनमा बाजी मारेको हो ।
मनाङले राष्टिय लिग सहित नयाँ सिजनका लागि अभिषेक रिजाल सहितका खेलाडीलाई क्लबमा अनुबन्धन गरेको छ ।
माल्दिभ्सको लिग सकेर स्वदेश फर्किएर अभिषेकले मनाङबाट मोफसलको फुटबल खेलिरहेका छन् । उनलाई समेत लामो समयका लागि क्लबमा अनुबन्धन गर्ने मनाङको योजना छ ।