धनगढी । सर्वाधिक धनराशीको सुदुरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको पहिलो क्मावाटरफाइनलमा आयोजक सुदुरपश्चिम-११ ले आज भारतको कंचनजंघा एफसीसँग खेल्दैछ ।
कैलाली हसनपुरस्थित धनगढी रंगशालामा बाई पाएको आयोजक सुदूरपश्चिम र कंचनजंघाबीच दिउँसो खेल हुनेछ । खेल दिउँसो ३:३० बजे सुरु हुनेछ ।
घरेलु समर्थकको साथ पाउने सुदूरपश्चिम पाहुना टोलीलाई हराएर सेमिफाइनलमा पुग्न चाहन्छ । पाहुना टिमविरुद्ध आयोजक सुदूरपश्चिम आफ्नो एकेडेमीका खेलाडी मैदान उतार्ने छ ।
यस्तै कंचनजंघा पनि घरेलु टोलीलाई स्तब्ध बनाउने लक्ष्यमा हुनेछ । कंचनजंघाले पहिलो खेलमा सर्लाहीको बागमती क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो ।
दुई टोलीबीचको विजेता टिमले विभागीय नेपाल पुलिस क्लब र एपीएफबीचको विजेतासँग खेल्नेछ ।
अर्को क्वाटरफाइनलमा थ्री स्टार र नव जन जागृति युवा क्लब तथा हिमालयन शेर्पाक्लब र गोर्खा ब्वाईज रुपन्देही भिड्नेछन् ।
सुदूरपश्चिम स्पोर्ट्स क्लबको आयोजनामा जारी प्रतियोगितामा १२ टिमको सहभागीता रहेको छ । देशकै सर्वाधिक राशिको मोफसल प्रतियोगिताको विजेताले २१ लाख १ रुपैया पाउनेछ । उपविजेताले १० लाख १ पाउने आयोजकले जनाएको छ ।
यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बेनेली मोटरसाईकल प्रदान गरिनेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार प्रदान गरिने छ ।