काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको पहिलो त्रिकोणात्मक सिरिजमा नेपालले औषत प्रदर्शन गर्यो ।
घरेलु भूमिमा भएको सिरिजमा नेपालले चार खेलमा २ जित र २ हार व्यहोर्यो । अमेरिकाविरुद्धको दुई खेल जितेको नेपालले ओमानविरुद्ध दुवै खेल गुमायो ।
घरेलु भूमिमा भएको पहिलो सिरिजमा नेपालले औषत प्रदर्शन गरेपनि केहि खेलाडीका लागि भने अवसर बन्यो ।
सिरिजमा नेपालका ४ खेलाडीले डेब्यु गरे । घरेलु भूमिमा कुशल मल्ल, सुशन भारी, कमल सिंह ऐरी र अविनाश बोहराले एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गरे ।
यी खेलाडीले डेब्यु मात्र गरेनन्, नेपालको लागि महत्पूर्ण भूमिका समेत खेले । मुख्यत, कुशल र सुशनले डेब्युमै सबैको ध्यान खिच्न सफल भए ।

कुनै खेलाडीको लागि डेब्यु खेल निकै महत्पूर्ण हुन्छ । डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडी भने कमनै भेटिन्छन् ।
तर, कुशल र सुशनले डेब्युमै नेपालको महत्पूर्ण खेलाडीको रुपमा आफुलाई स्थापित गरेका छन् । यो भन्दा उत्कृष्ट डेब्यु के हुन सक्छ एक खेलाडीको लागि ।
सबै खेलाडीको सपना हुन्छ डेब्यु खेलमा प्रभाब छाड्ने । र, यो सपना कुशल र सुशनले साकार नै पारे ।
कुशलले रोहित कुमार पौडेलको स्थानमा डेब्यु गरेका थिए । निकै खराब स्थितिमा रहेको अवस्थामा नेपालको इनिङ डेब्यु खेलाडीले उकासे । अझ रोहितको स्थानमा खेल्दै उनले रोहितकै विश्व कीर्तिमान तोडे ।
यस्तै सुशन समेत ४ खेल खेल्दा कुनै खेलमा विकेट विहीन रहेनन् । उनले ४ खेलमा ३० ओभर २ बल बलिङ गर्दा मात्र १ चौका खाएका थिए । ३ दशमलब ३९ को इकोनमि रहेको सुशनले ११ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष १० मा स्थान बनाएका छन् ।
सुशनले विकेट लिने सूचीमा सबै भन्दा कम खेल र ओभर बलिङ गरेका हुन् ।
डेब्यु खेलाडीको प्रदर्शन कस्तो ?
कुशल मल्ल :
कुशलले अमेरिकाविरुद्ध एकदिवसीय अन्तराष्ट्रिय खेलमा डेब्यु गरेका थिए । डेब्यु खेलमा नै कुशलले विश्व कीर्तिमान बनाउन सफल भए । उनले अमेरिकाविरुद्ध कीर्तिमानी अर्धशतक बनाए ।
कुशलले ४९ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । र, कुशल एकदिवसीय अन्तराष्ट्रियमा अर्धशतक प्रहार गर्ने सर्वाधिक कम उमेरका खेलाडी बने । उनले नेपालकै रोहित कुमार पौडेलको कीर्तिमान भंग गरे ।
कुशलले १५ वर्ष ३ सय ४० दिनमा अर्धशतक बनाएर कीर्तिमान बनाएका हुन् । यस अघि रोहितले १६ वर्ष १ सय ४६ दिनको उमेरको कीर्तिमान बनाएका थिए ।
४९ रन बनाउँदा ५ विकेट गुमेको नेपालको लागि छैठौं स्थानमा ब्याटिङ गर्न आएका कुशलले बिनोद भण्डारीसंग उत्कृष्ट साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए । कुशलको त्यो पाली देखेर अमेरिकाका कप्तान सौरभ नेत्राभाल्करले बहादुर खेलाडीको संज्ञा दिएका थिए ।
यस्तै उनले आफ्नो दोस्रो खेलमा ओमानविरुद्ध समेत राम्रो प्रदर्शन गरेका थिए ।
सिरिजमा कुशलले नेपालको लागि तेस्रो सर्वाधिक रन जोडे । ३ खेलमा ७८ रन बनाएका उनको १ सय ४ को स्ट्राइक रेट रहेको छ । लिगमा ६५ रन भन्दा माथि बनाउने खेलाडीको स्ट्राइक रेट मध्य कुशल दोस्रो स्थानमा छन् ।
सुशन भारी :
ओमानविरुद्धको पहिलो खेलमा डेब्यु गरेका सुशनले सिरिजमा तारिफ योग्य प्रदर्शन गरे । उनले डेब्यु खेलमा नै ३ विकेट हात पारेका थिए । उनले आफ्नो डेब्यु बलमा नै विकेट लिन सफल भएका थिए ।
सुशनले आफ्नो पहिलो ओभरमा जसन मसुद र सुरार कुमारलाई आउट गर्दै ओमानको इनिङ धरापमा पारेका थिए ।
यस्तै उनले अमेरिकाविरुद्ध समेत आफ्नो पहिलो बलमा विकेट लिन सफल भएक थिए । बाँया हाते स्पिनर सुशनले सिरिज भर ४ खेलमा ११ विकेट लिन सफल भए ।

सुशन नेपालको लागि सिरिजमा सर्वाधिक विकेट लिने खेलाडी बने । ४ मात्र खेल्दा सुशन लिगमा सर्वाधिक विकेट लिने खेलाडीको शिर्ष १० मा आफ्नो स्थान बनाउन सफल भएका छन् ।
अविनाश बोहरा :
अविनासले समेत ओमानविरुद्धको पहिलो खेलमा एकदिवसीय अन्तराष्ट्रिय डेब्यु गरेका थिए । उनले ४ खेल मध्य २ खेल मात्र खेल्ने मौका पाए । सिरिजमा उनले खासै प्रभाब जमाउन सकेनन् ।
ओमान र अमेरिकाविरुद्ध एक एक खेल खेलेका उनी दुवै खेलमा विकेटविहिन भएका थिए । पहिलो खेलमा उनले ओमानविरुद्ध २ ओभरमा १३ रन खर्चेका थिए भने अमेरिकासंग ९ ओभरमा २ मेडन सहित ३८ रन खर्चिए ।
अविनाशले आफ्नो डेब्यु टी ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा म्यान अफ द सिरिज घोषित भएका थिए भने डेब्यु एकदिवसीय अन्तराष्ट्रियमा खासै प्रभाब जमाउन सकेनन् ।

कमल सिंह ऐरी:
कमलले ओमानसँगको खेलबाट राष्ट्रिय टिम र एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।
अविनाश बोहराको स्थानमा कमलले टिममा मौका पाएका थिए ।
डेब्यु खेलमा उनले ब्याटिङतर्फ अविजित ९ रन बनाएका थिए । ४ ओभर बलिङ गरेका कमल २९ रन खर्चिएर विकेट विहीन रहे ।
